तिहारको विदाको दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिइने

काठमाडौं  । वाणिज्य विभागले तिहारको विदाको दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ । तिहारका बेलामा मिठाई, मासु एवं अन्य खाद्यान्नमा कालाबजारी एवं अखाद्य सामाग्री मिसावट बढि हुने भएकाले नियन्त्रणका लागि सरकारी संस्थानहरुसँगको समन्वयमा अनुगमनलाई निरन्तरता दिइएको महानिर्देशक नारायण प्रसाद विडारीले बताउनुभयो ।


विभागका महानिर्देशक विडारीले अखाद्य, गुणस्तरहिन खाद्यान्न विक्रि वितरणलाई निस्तेज पार्न विभागले तिहार विदाको दिनमा पनि प्रभावकारी अनुगनम गर्ने दाबी गर्नुभएको हो । उपभोक्ताको हित विपरित काम गर्ने व्यवसायीहरुमाथीको कारबाही प्रकृया अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । तर, कति व्यवसायीलाई कारबाही भयो भन्नेबारेमा भने उहाँले केहि खुलाउनुभएन ।


आम उपभोक्ता सहित निजी क्षेत्रले पनि बजार अनुगमनलाई निरन्तरता दिइनुपर्ने र उपभोक्ता अधिकारमाथि खेलवाड गर्ने व्यवसायीमाथी हदै सम्मको कारबाहि हुनुपर्ने बताउँदै आएका छन् । यसैविच जिल्ला प्रशासन कार्यालय धादिङ्गले दशैं तिहारको बेलामा राजमार्गका होटलमा राखेको मूल्य सूची कार्यान्वयनमा आउन नसकेको गुनासो गरिएको छ ।


प्रशासनले तोकेको खाद्यान्नको मूल्य सूची भन्दा ७५ प्रतिशतसम्म बढि मूल्य होटल व्यवसायीहरुले लिइरहेको गुनासो उपभोक्ताले गरेका छन् । विभागले तोकेको मूल्यले लागत नै नउठ्ने भन्दै व्यापारीहरुले हाकाहाकी बढी मूल्य लिने गरेको सर्वसाधारणले जानकारी गराएका हुन् ।


मूल्य सूची टाँसीदिने तर कार्यान्वयन भए नभएको अनुगमन नहुँदा व्यवसायीहरुले आफू खुसी रकम लिने गरेको उपभोक्ताको गुनासो छ ।

 

– RSS