विवाहको सिजनसंगै बजारमा सुनको मुल्य उकालो लाग्दा ग्राहक मारमा

काठमाडौं ।  – विवाहको सिजनसंगै स्थानीय बजारमा सुनको मुल्य उकालो लागेको छन् । अभाव भएको भन्दै तोकिएको भन्दा बढीमा कारोवार भइरहेको बजारमा मुल्य उकालो लाग्दा ग्राहक मारमा परेका छनन् ।


सुनचादी व्यवसायी संघका अनुसार यस साता स्थानीय बजारमा सुनको मुल्य तोलामा झन्डै ५ सय रुपैया बढेको छ । मुल्य बृद्धि र बजारमा भइरहेको अबैध कारोवारको कारण ग्राहकहरु दोहोरो मारमा परेका छन् । ‘भाउ अझै बढ्ने संकेत देखिएको छ,’ संघका अध्यक्ष तेजरत्न शाक्यले भने, ‘मुल्य बृद्धि र तोकिएभन्दा बढीमा सुन किन्नु पर्ने अवस्थाको मारमा ग्राहक परेका छन् ।’ 


स्थानीय बजारमा आइतवार प्रतितोला सुनको मुल्य ६०  हजार ३ सय ६० -दशग्राममा ५१ हजार ७ सय ५०) रुपैयामा कारोवार भएको थियो । शुक्रबार बढेर तोलामा ६१ हजार ८ सय ५० -दशग्राममा ५२ हजार १ सय ७० रुपैयामा सुन किनवेच भयो ।


‘अन्तर्राष्ट्रिय बजारमा हेर्दा आइतवार अझै मुल्य बढ्ने संभावना देखिएको छ,’ शाक्य भन्छन् । सरकारले तोकेको कोटाले बजारको माग धान्न नसकेको र भारतीय रुपैया भित्राउन सुन तस्करी हुने गरेकाले स्थानीय बजारमा अभाव बढेको छ ।


बैकहरुले सुन ल्याएर बेच्न थालेको उनले बताए । ‘तर त्यसले नपुग्ने भएपछि हामीले राष्ट्र बैकलाई यही साता कोटा बढाउन भनेका छौ,’ उनले भने, ‘अभाव बढ्दै गए बढी मुल्यमा सुनको कालोबजारी अझै देखिएको छ ।’ केन्द्रीय बैक कोटा बढाउनेमा सहमत भएको भन्दै उनले तत्काल बढाउनु पर्ने बताए । उनका अनुसार अहिले बजारमा प्रतितोला सुन तोकिएको मुल्य भन्दा ५ सय देखि एक हजार रुपैया बढीमा कारोवार भइरहेको छ ।


स्थानयि बजारमा सोमवार प्रतिदश ग्राम सुनको मुल्य ५१ हजार ८ सय ७० पुगेको थियो । मंगलबार र बुधवार प्रतिदश ग्राम सनु ५२ हजार १ सय २५ रुपैयामा किनवेच भयो । विहीवार र शुक्रबार एउटै मुल्यमा सुन खरिद विक्री भएको थियो ।


अन्तर्राष्ट्रिय बजारमा यस साता प्रतिआउन्स सुनको मुल्य १७ डलरले उकालो लागेको छ । आइतवार प्रतिआउन्स सुनको मुल्य १ हजार ७ सय १३ अमेरीकी डलर रहेकामा शुक्रबार बढेर आउन्समा १ हजार ७ सय ३० अमेरीकी डलर पुग्यो ।


यस साता चादीको मुल्य पनि बढेको छ । स्थानीय बजारमा आइतवार प्रतिदशग्राम चादीको मुल्य १ हजार ३ रुपैया थियो । शुक्रबार बढेर प्रतिदश ग्राम चादी १ हजार २९ रुपैयामा किनवेच भयो । अन्तर्राष्ट्रिय बजारमा आइतवार प्रतिआउन्स चादीको मुल्य ३२ दशमलव ३१ अमेरीकी डलर रहेकोमा शुक्रबार बढेर ३३ दशमलव २२ अमेरकी डलर कायम भयो ।