बुटवलमा हुन लागेको अन्तर्राष्ट्रिय व्यापार मेलामा शैक्षिक गतिबिधिलाई पनि प्राथमिकता दिइने भएको छ ।
बुटवलमा हुन लागेको लुम्बिनी एक्स्पो २०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा शैक्षिक गतिबिधिलाई पनि प्राथमिकता दिइने भएको छ । मेलामा शैक्षिक व्यक्तिहरुको सहभागीता बढाउने उद्देश्ले शैक्षिक गतिबिधि पनि गरिन लागिएको हो ।
पुस्तकका स्टलहरु राख्नका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघसँग समन्वय गरिएको छ । मेलामा आकर्षण दिन भर्खरै बजारमा आएका र चर्चामा रहेका पुस्तकलाई स्टलमा राखिने नेपाल पुस्तक तथा स्टेशनरी व्यवशायी महासंघ रुपन्देहीका अध्यक्ष हेमानन्द शर्माले बताए ।
त्यसबाहेक साहित्यिक, कोर्सका पुस्तकका साथै स्टेशनरी सामान पनि पुस्तक स्टलमा रहनेछन् । शैक्षिक कन्सलटेन्सी सहित बिदेशी प्रकाशन क्याम्ब्रिज र अक्सफोर्डको स्टल पनि रहने मेला सचिवालयले जनाएको छ । मेला सचिवालका सदस्य सचिव तथा रुपन्देही व्यापार संघको महासचिव यमलाल लोहनीले बुटवल शिक्षाको हबको रुपमा बिकास भैरहेको हुदा मेलामा शैक्षिक क्षेत्रलाई पनि सँगै लैजान खोजिएको र यसले शैक्षिक व्यक्तिहरुको आकर्षण बढ्ने बताए ।
मेला अबधिभित्र शैक्षिक बिषयमा गोष्ठि तथा सेमिनारको आयोजना गरिने कार्यक्रम रहेको मेलाका गोष्ठी संयोजक ज्योती भण्डारीले बताए । रुपन्देही व्यापार संघको आयोजनामा पौष ६ देखि १७ सम्म बुटवल मण्डपमा लुम्बिनी एक्स्पो २०१२ तथा अन्तर्राष्ट्रिय व्यापार मेला हुन लागेको हो ।