काठमाडौं । मुलुकको व्यापार घाटा उच्च दरले बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक महिना सम्मको आर्थिक स्थितिमा कुल वस्तु व्यापार घाटा ३६ प्रतिशत बढिले वृद्धि भई १ खर्ब ५२ अर्ब ३८ करोड रुपैयाँ पुगेको जनाइएको हो । असोज महिनामा भन्दा कात्तिक महिनामा व्यापार घाटा झन् बढेको छ ।
असोज महिनासम्ममा यस्तो व्यापार घाटा १ खर्ब ३६ अर्ब ४८ करोड रुपैयाँ थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १२ दशमलब १ प्रतिशतले मात्र बढेकोे थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटामध्ये भारतसँंगको घाटा ३९ दशमलब ३ प्रतिशतको उच्च दरले वृद्धि भएकोे छ ।
यस अवधिमा बस्तु निर्यातमा भने सामान्य सुधार आएको छ । चार महिनासम्ममा कुल वस्तु निर्यात ११ दशमलब ७ प्रतिशतले वृद्धि भई २६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलब ७ प्रतिशतले वृद्धि भई २३ अर्ब ६९ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको चार महिनासम्ममा सरकारी बजेट १४ अर्ब ७ करोड बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी बजेट ६ अर्ब ३४ करोड बचतमा थियो । समीक्षा अवधिमा स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून रहेकोले सरकारी बजेट बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।



