भन्सार विभागका महानिर्देशकको मौखिक आदेशमा रिठ्ठा निकासीमा लाग्दै आएको शुल्कमा चारगुणा बढाइएको भन्दै जडिबुटी व्यवसायीहरुले रिठ्ठाको भारत निकासी रोकेका छन् ।
विगतमा प्रतिकिलो एक रुपैया निकासी शुल्क तिर्दै आएपनि पछिल्लो समय प्रतिकिलो निकासी शुल्क पाँच रुपैया तोकिएपछि रिठ्ठा निकासी रोकिएको नेपाल जडिबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष मोहम्मद याकुब अन्सारीले जानकारी दिनुभयो ।
भन्सार विभागले निकासी शुल्क बढाएपछि नेपालगन्जमा भारत निकासीका लागि गोदाममा रहेको करिब सात लाख किलोग्राम रिठठा थन्किएको छ ।
विगतमा प्रतिकिलो ७० रुपैयासम्म विक्रि हुने गरेकोमा गतबर्ष प्रतिकिलो २० रुपैयामा झरेपछि व्यवसायीले पुरानो रिठ्ठा समेत भाउ बढ्ने आशामा थन्काएर राखेका थिए ।
भन्सार विभागका महानिर्देशकको जिल्ला भ्रमणपछि पुस दोस्रो सातादेखि भन्सार कार्यालयले एक्कासी निकासी शुल्क बढाएको व्यवसायीको दावी छ ।