मोबाइल फोन सेट खसेर फुट्यो वा पानीमा डुबेर काम नलाग्ने भयो भने अब चिन्ता नगरे हुन्छ ।
किनकी मोबाइल विक्री गर्ने विक्रेताले अब मोबाइल सेटको विमा गरिदिन थालेका छन् र विमा गरिएको मोवाइल सेट फुटेमा, पानीमा परेर नष्ट भएमा वा लुटिएमा त्यसको सट्टा नयाँ सेट पाइने छ ।
तर यो विमाको सुविधा भने नेपालका लागि सामसुङको आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज प्रालि आइएमएसको हलोग्राम अंकित सामसुङको ग्यालेक्सी एस थ्री र ग्यालेक्सी नोट टू सेटमा मात्र छ ।
आइएमएसका अध्यक्ष दिपक मलहोत्राले एभरेष्ट इन्सुरेन्ससँगको सहकार्यमा भ्यालेन्टाइन डेको अवसर पारेर विहीवार देखि मोबाइल फोन सेटको विमा गर्न थालेको जानकारी दिनुभयो । विमा सम्बन्धी सम्झौतामा विहीवार मलहोत्रा र एभरेष्ट इन्सुरेन्सका सिइओ सिइओ केवलकृष्ण श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
अब आइएमएसको हलोग्राम अंकित सामसुङ मोबाइलको ग्यालेक्सी एस थ्री र ग्यालेक्सी नोट टू सेट विमा गरेर मात्र विक्री गरिने आइएमएसका अध्यक्ष दिपक मलहोत्राले बताउनुभयो ।