बजाज सर्वाधिक बिक्री हुने

नेपालमा पछिल्ला १० महिनायता आयात भएका दुईपांग्रे सवारीमध्ये बजाज मोटरसाइकल सबैभन्दा अग्रस्थानमा छ । भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार बजाजको बजार हिस्सा ३१.४१ प्रतिशत छ ।
सन् २०१२ अप्रिलदेखि २०१३ जनवरीसम्म १ लाख ३ हजार ७ सय ७९ मोटरसाइकल नेपाल भित्रिएकामा बजाजको हिस्सामात्रै ३२ हजार ५ सय ९५ छ । गोल्छा समूहअन्तर्गतको हंशराज हुलासचन्द एन्ड कम्पनी (एचएच बजाज)ले नेपालमा बजाज मोटरसाइकल बिक्री गर्दै आएको छ ।
बजाजपछि होन्डा ब्रान्डका मोटरसाइकल बढी भित्रिएका छन् । यो ब्रान्डको नेपाली बजार हिस्सा २५.७० प्रतिशत छ । होन्डाका २६ हजार ६ सय ६९ मोटरसाइकल आयात भएको विभागले जनाएको छ । ज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा होन्डा मोटरसाइकल बिक्री गर्छ ।
तेस्रो नम्बरको बिक्रीमा नेपाल जनरल मोटर्स (एनजीएम) प्रालिले बिक्री गर्दै आएको हिरो मोटरसाइकल परेको छ । यो ब्रान्डका मोटरसाइकल २२ हजार ४० थान भित्रिएका छन् । एनजीएम पनि ज्योति समूहकै कम्पनी हो ।
एमडब्लू इन्टरप्राइजेजले बिक्री गर्ने यामाहा मोटरसाइकल चौथो स्थानमा छ । यसको बजार हिस्सा ९.१४ प्रतिशत छ । यो अवधिमा ९ हजार ४ सय ८८ थान यामाहा मोटरसाइकल भित्रिएका छन् । एआईटी प्रालिले बिक्री गर्ने टीभीएसले ५.०२ प्रतिशत बजार हिस्सा ओगटेको छ । यो मोटरसाइकल ५ हजार २ सय १४ थान आयात भएका छन् ।
एसजी ग्लोबल प्रालिले बिक्री गर्दै आएको महिन्द्रा स्कुटीको बजार हिस्सा ३.८० प्रतिशत छ । यो अवधिमा ३ हजार ९ सय ४० थान महिन्द्रा भित्रिएका छन् । गणेश इन्टरप्राइजेजको बिक्रीमा रहेको सुजुकी मोटरसाइकल २ हजार ८ सय ३४ थान आयात भएका छन् । यसको बजार हिस्सा २.७३ प्रतिशत छ । श्रेष्ठ कम्पनीले बिक्री गर्ने एसवाईएम मोटरसाइकल १ सय ४ थान भित्रिएको छ, जसले बजारमा ०.१० प्रतिशत हिस्सा ओगट्छ ।
मोटरसाइकलमा बजाजको सबैभन्दा बढी १ सय ५० सीसी क्षमतातर्फको मोडलमा ५३.१४ प्रतिशत हिस्सा छ । यो सेगमेन्टतर्फ यामाहा १३.२७ प्रतिशत, होन्डा ११.९१ प्रतिशत र हिरो १०.४५ प्रतिशत छन् । स्कुटरतर्फ होन्डाको ५३.१७, महिन्द्राको १८.३९ र हिरोको १४.५९ प्रतिशत हिस्सा रहेको विभागले जनाएको छ ।
त्यस्तै, १ सय सीसीतर्फ हिरोले ४९.८८ प्रतिशत, होन्डाले १९.०४ र बजाजले १४.४७ प्रतिशत हिस्सा ओगटेका छन् । १ सय २५ सीसीतर्फ हिरोको ३०.७९, बजाजको २९.४७ र होन्डाको २७.७४ प्रतिशत छ ।

केदार दाहाल