सरकारले छिटोमा एक साता र ढिलोमा यही वैशाख मसान्तभित्र संविधानसभा निर्वाचनको नयाँ मिति तोक्ने तयारी गरेको छ ।
निर्वाचनकै लागि गठित अन्तरिम मन्त्रिपरिषद् भए पनि त्यसतर्फ खासै सक्रियता नदेखाएको आलोचना खेपिरहेका बेला सरकारले मिति घोषणाको तयारी बढाएको हो । मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आफैं र मन्त्रीहरूमार्फत निर्वाचनको उपयुक्त मितिबारे राजनीतिक दलसँग परामर्श थालेका हुन् ।
निर्वाचन लगायतकै विषयमा छलफल गर्न सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता माधव पौडेल शुक्रबार साँझ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट पुगेका थिए । कांग्रेस, एमाले, मधेसवादी दलका नेता जिल्लाबाट राजधानी र्फकनासाथ उनीहरूसग पनि परामर्श गरी निर्वाचनको मिति तोकिने स्रोतले बतायो ।
अध्यक्ष दाहालले पौडेलसँगको भेटपछि आफ्नै निवास लाजिम्पाटमा कान्तिपुरसँग सरकारले एक साताभित्रै र ढिलोमा वैशाखभित्र संविधानसभा निर्वाचनको मिति तोक्ने बताए । ‘मैले त कात्तिक अन्तिम सातातिर निर्वाचन गर्नेगरी मिति तोक्न उपयुक्त हुन्छ भन्ने ठानेको छु, त्यहीअनुसार सल्लाह पनि दिएको छु,’ दाहालले भने, ‘सरकारले यसै साताभित्र निर्वाचनको मिति तोक्छ । त्यसपछि निर्वाचनको माहोल बन्छ ।’
कांग्रेस, एमालेलगायत सबै प्रमुख दल तयार भएकाले कात्तिकको अन्त्य वा मंसिर पहिलो सातासम्म निर्वाचन हुने उनले विश्वास व्यक्त गरे । ‘अन्तर्राष्ट्रिय समुदायले पनि समयमै निर्वाचन होस् भन्ने चाहेको छ । खासगरी दुई छिमेकी चीन र भारतले कात्तिक-मंसिरमा निर्वाचन सम्पन्न गर्न हरप्रकारले सहयोग गर्ने बचन दिएका छन्,’ हालै चीन र भारत भ्रमण गरेर फर्केका दाहालले भने ।
घरेलु रूपमा एमाओवादीबाटै अलग्गिएको नेकपा-माओवादीलगायत दलसँग छिट्टै छलफल गरी निर्वाचनमा सहभागी हुने वातावरण बनाउने पनि उनले बताए । ‘अब केही दिनमै किरणजी -माओवादी अध्यक्ष मोहन वैद्य) लगायत साथीसँग छलफल गर्छु । उहाँहरूलाई पनि निर्वाचनमा सहभागी गराउने वातावरण बनाउँछु,’ दाहालले भने । वैद्यसँग सकभर पार्टी एकता नभए पनि निर्वाचनमा कार्यगत एकताका लागि प्रयास गर्नेसमेत उनले बताए । ‘उहाँहरूभित्र पनि निर्वाचनमा सहभागी हुनुपर्छ भन्ने धार देखिएको छ,’ उनले भने ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले पनि सरकारले वैशाखभित्रै नयाँ संविधानसभा निर्वाचनको मिति तोक्ने गरी छलफल, संवाद जारी राखेको बताए । ‘निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर सरकारले परामर्श गरिरहेको छ । वैशाखभित्रै नयाँ निर्वाचनको मिति तोक्ने गरी राजनीतिक दल, निर्वाचन आयोगसँग परामर्श भइरहेको जानकारी दिएका छन /



