ब्रोइलर कुखुराको मासुको भाउ किलोको २ सय ७० रुपैयाँ

काठमाडौं – व्यवसायीले ब्रोइलर कुखुराको मासुको भाउ किलोमा १५ रुपैयाँ घटाएका छन्। सोमबारबाट प्रतिकिलो २ सय ७० रुपैयाँमा ब्रोइलरको मासु बजारमा पाइने छ।
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले प्रतिकिलो २ सय ८५ रुपैयाँमा १५ घटेर सोमबारबाट २ सय ७० रुपैयाँमा उपभोक्ताले किन्न पाउने जानकारी दिए। ‘गर्मी चढेसँगै खपत पनि कम भएको र कुखुरा उत्पादनसमेत बढेका कारण मासुको भाउ घटाएका हौं,’ बिसीले आइतबार भने।
उनका अनुसार गत बुधबार (वैशाख १८) मा पनि किलोमा १५ रुपैयाँ घटाएर ३ सयबाट २ सय ८५ रुपैयाँमा आएको थियो। काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका करिब २ सय कोल्ड स्टोरमा यो भाउमा ब्रोइलरको मासु पाइने छ।
– नागरिक