सरकारले सूर्तीजन्य वस्तुहरुमा अन्तः शूल्क टिकट लगाउने

काठमाडौं । सरकारले बुधबारदेखि सूर्तीजन्य वस्तुहरुमा अन्तः शूल्क टिकट लगाउने कार्यविधि लागू गरेको छ । यस्तो अन्तः शूल्क टिकट यसअघि चुरोट र बिंडिमा मात्र लाग्दै आएको थियो । अब उप्रान्त सूर्तीजन्य सबै वस्तुहरुमा अनिवार्य टिकट लगाउनुपर्ने व्यवस्था लागू गरिएको आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणी शर्माले बताए ।
    
यो कार्यविधि लागू भएपछि कुन वस्तु वैध र कुन वस्तु अवैध पत्ता लगाउन सकिने शमाले बताए । जेष्ठ १ गतेदेखि लागू गरिएपनि श्रावण १ गतेबाट सबै उत्पादित वस्तुहरुमा अन्तः शुल्क टिकट नलगाउने सूर्तीजन्य वस्तु अवैध हुने र विभागले जफत गर्ने शर्माले बताए ।
    
कार्यविधि कार्यान्वयनका लागि सूर्तीजन्य वस्तु उत्पादक कम्पनीहरुमा विभागका कर्मचारीहरुलाई खटाईने पनि विभागले जनाएको छ । हाल यी वस्तुहरुबाट वार्षिक २० करोड रुपैयाँ राजश्व संकलन भैरहेको विभागले जनाएको छ । 
यो व्यवस्था पछि यी उत्पादनबाट वार्षिक १ अर्ब रुपैयाँ राजश्व संकलन हुने विभागको प्रक्षेपण छ । 
rss