शेयर बजार ओरालो, नेपाल बैंकको हकप्रद शेयर बिक्री खुल्ला

काठमाडौं  । साताको अन्तिम दिन बिहीबार पनि शेयर बजार ऋणात्मकमै थामियो । बजार परिसूचक नेप्से २ अंक बराबरले झरेर ४ सय ९६ मा आइपुग्यो । कारोबार भएका मध्ये आधा जसो समूहका सूचक घटेसंगै नेप्से झरेको हो ।


अन्य समूहको सूचक सबैभन्दा उच्च ५ अंकले घट्यो । वाणिज्य बैंक समूहमा २ अंक बराबरको गिरावट आयो । उत्पादनमूलक, बीमा र विकास बैंक समूह भने सामान्य अंकले सकारात्मक रहे ।


यस दिन नेपाल स्टक एक्सचेन्जमा ८९ कम्पनीको २ लाख ९४ हजार कित्ता बराबर शेयर ६ करोड ७८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।


यसैबीच, नेपाल बैंक लिमिटेडको हकप्रद शेयर बिहीबार देखि बिक्री खुल्ला भएको छ । बैंकले चुक्ता पूँजी चार अर्ब रुपैयाँ पुर्याउन एक बराबर साढें नौ कित्ता बराबर हकप्रद शेयर जारी गरेको हो ।


विहीबारबाट बिक्री खुला भएको बैंकको हकप्रद शेयर छिटोमा जेष्ठ १२ गते बन्द हुनेछ । बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धनको जिम्मा नागरिक लगानी कोष र सिभिल क्यापिटल मार्केट लिमिटेडले पाएका छन् ।


त्यस्तै, नेपाल बैंक र जनता बैंक निष्काशन बैंकरका रुपमा रहेका छन् ।


रासस