कैलालीको टीकापुर विमानस्थलमा २० वर्षपछि जहाज अवतरण

कैलाली(अत्तरिया) – कैलालीको टीकापुर विमानस्थलमा २० वर्षपछि जहाज अवतरण भएको छ। नाइन एनएइभी कल साइनको तारा एयरको टुवीनअटर विमान सो विमानस्थलमा आज अवतरण गरेको हो। टीकापुर विमानस्थल निर्माण सञ्चालन तथा व्यवस्थापनको सक्रियतामा सो परीक्षण उडान गरिएको जनाइएको छ।
विमान अवतरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै तारा एयरका प्रमुख शान्ता पराजुलीले टीकापुर विमानस्थल उडानका लागि उपयुक्त रहेको बताए । उनले यात्रुको चाप भएपछि नियमित उडान भर्न आफूले पहल गर्ने पनि बताए ।
नागरिक उड्डयन प्राधिकरणका योगेन्द्र बजगाईंले टीकापुर विमानस्थलमा नियमित उडान भर्नका लागि आवश्यक कार्य अघि बढाइएको जानकारी दिए । वरिष्ठ पाइलट प्रभाकर घिमिरेले हवाइ उडानका लागि विमानस्थल उपयुक्त भएकाले नियमित उडानका लागि सबैको सहयोग आवश्यक भएको प्रतिक्रिया दिए ।
टीकापुर विमानस्थलमा विमान अवतरण भएपछि विमान हेर्ने स्थानीयवासीको घुइँचो लागेको थियो। 
२०४२ बाट सञ्चालनमा आएको सो विमानस्थल २०४७ सम्म निरन्तर चलेको थियो। त्यहाँबाट नेपालगन्ज, काठमाडौँ, अछामको साँफेबगरलगायतका ठाउँमा नियमित उडान हुने गरेको स्थानीयवासी नवराज रावलले बताए । 
सडक सञ्जालले पहाडी जिल्लालगायत देशभरका अन्य ठाउँमा छोएपछि सो विमानस्थलबाट उडान बन्द गरिएको थियो।
२०६१ सालमा मुक्तकमैयाले कब्जा गरेको विमानस्थल २०६७ पुसमा स्थानीय सञ्चारकर्मीको पहलमा सर्वदलीय समिति गठन गरी सञ्चालनको प्रयास थालिएको टीकापुरका पत्रकार मातृका तिमिल्सेनाले बताए ।
RSS