दाङमा लगातार दुईदिन दुई किशोरी बलात्कृत

देवेन्द्र बस्नेत

 

दाङ – दाङमा लगातार दुईदिन दुई किशोरी बलात्कृत भएका छन्। शुक्रवार गोल्टाकुरी गाविसकी १५ बर्षिया किशोरी वलात्कृत भएको घटनापछि शनिवार राती फेरी अर्की एक किशोरी वलात्कृत भएकी छन्।

पवननगरकी १७ बर्षीया एक किशोरी माथि शनिवार राती तुलसीपुरस्थित बसपार्कमा सामुहिक बलात्कार भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ४ जनाको समुहले बसपार्कमा बसभित्रै ती किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। प्रहरीले बलात्कार गर्ने ४ जनालाई समातेको छ। बलात्कृत युवतीले राती २ बजे आफूमाथि वलात्कार भएको प्रहरीलाई जानकारी गराएपछि तत्काल घटनास्थल पुगेको प्रहरीले ४ जना युवालाई समातेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी तुलवहादुर कार्कीले नागरिकलाई जानकारी दिए।


‘पीडितले आफूमाथि बलात्कार भएको जानकारी गराएपछि हामी घटनास्थल पुगेका थियौँ,’ डिएसपी कार्कीले भने, ‘हामीहरुले ४ जना युवाहरुलाई रंगेहात समातेका थियौँ।’ ती चारै युवाहरु गाडी स्टाफ रहेको प्रहरीको भनाइ छ। पक्राउ पर्नेमा प्युठानका विरवहादुर खत्री, सल्यानका युवारज डाँगी, अर्जुन योगी र चन्द्र डाँगी छन्। यी चारैजनाले प्रहरी समक्ष आफूहरुले करणी गरेको स्वीकारेका छन्। बलात्कृत किशोरीले आफूलाई बसभित्रै चार जनाले पालैपालो जवर्जस्ती गरेको बताएकी छिन्। उनको अवस्था अहिले सामान्य रहेको प्रहरीले बताएको छ।