चुनाव लागि हालसम्म झन्डै एक करोड २१ लाख मतादाता मात्र फोटो सहितको मतदाता नामावलीमा दर्ता, यसपटक ५० लाखभन्दा बढी घटे

मुलुकको जनसंख्या बढे पनि २०६४ सालको संविधानसभा चुनावमा करीब पौने दुई करोड रहेको मतदाताको संख्या यसपटक ५० लाखभन्दा बढी घटेको छ।


यस अघिको संविधानसभा चुनावमा १ करोड ७६ लाख मतदाता दर्ता भएका थिए जसमध्ये १ करोड ७ लाख बढीले चुनावमा मत हालेका थिए।


निर्वाचन आयोगका अनुसार हालसम्म झन्डै एक करोड २१ लाख मतादाता मात्र फोटो सहितको मतदाता नामावलीमा दर्ता भएका छन्।


मंसिर ४ को लागि घोषित संविधानसभा चुनावको लागि आयोगले असार मसान्तसम्म मतादाता नामावली संकलन गर्ने समयसिमा तोकेको छ।

 

निर्वाचन आयोगले २०६७ साल भदौ ३० गते देखि शुरु गरेको मतादाता नामावली संकलनमा सहभागी हुन मतदाता स्वयम् उपस्थित भएर औंलाको छाप दिने र फोटो खिचाउनु पर्ने नयाँ नियम बनाएको थियो।


धेरै जना दोहोरिएको, मृतकहरु समेत दर्ता भएको र कतिपयले एक भन्दा बढी स्थानमा नाम दर्ता गराएकाले विगतको मतादाता नामावलीको सूचीमा धेरै त्रुटि रहेको निर्वाचन आयोगको भनाइ छ।


निर्वाचन आयुक्त अयोधिप्रसाद यादवका अनुसार कतिपयले नाम दर्ता गराउन अनिच्छा देखाएकाले पनि संख्या घटेको हुनसक्छ।