काठमाडौं । जलविद्युत विकासमा अन्तर्राष्ट्रिय लगानी आकर्षित गराउने उद्देश्यले दुई दिने अन्तर्राष्ट्रिय उर्जा बैठक गरिने भएको छ । जलविद्युत लगानी तथा विकास कम्पनीले ठूला तथा मझौला जलविद्युतमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन लगानीकर्तासँग बैठक गर्न लागेको हो ।
कम्पनीले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा विभिन्न ४ वटा आयोजनासहित नयाँ आयोजनामा लगानीका लागि प्रस्ताव गरिने बताइएको हो । आगामी अक्टुबर २८ र २९ तारिखमा हुने बैठकमा धेरै संख्यामा चिनियाँ लगानीकर्तासहित भारत, युरोपियन मुलुकका लगानीकर्ताको सहभागिता रहने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले बताए ।
उर्जा मन्त्रालय, अर्थ मन्त्रालय, लगानी बोर्ड र एसियाली विकास बैंकको संयुक्त आयोजनामा बैठक गरिन लागेको हो ।
सन् २०११ मा नेपाल सरकार र एडीबीले संयुक्त रुपमा आयोजना गरेको नेपाल इनर्जी इन्भेष्टर फोरमको उद्देश्य अनुसार उर्जा बैठक गर्न लागिएको हो । एडीबीका प्रतिनिधि विजया टुंगाले नेपालको उर्जा क्षेत्रको विकासमा एडीबीको सहयोग निरन्तर रहने बताए ।
२५ मेगावाट भन्दा माथिका परियोजनामा लगानी गर्ने उद्देश्यसहित स्थापित जलविद्युत लगानी तथा विकास कम्पनीले विभिन्न आयोजनाको अध्ययन भइरहेको जनाएको छ ।
RSS