दीपेन्द्र विष्ट, ईकन्तिपुर
काठमाडौं – नेपाली कांग्रेस सभापति सुशील कोइरालाले नेकपा-माओवादी संविधानसभा निर्वाचनमा सहभागी भए ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन गर्न तयार भएको बताएका छन् ।
स्व. बीपी कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा उनले संशोधनअघि माओवादीले चुनावमा आउने ग्यारेन्टी गर्नुपर्ने बताए । ‘मुलुकले निकास पाउँछ भने ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश संशोधन गर्न तयार छौं,’ कोइरालाले भने, ‘तर वैद्यजी (मोहन वैद्य)ले चुनावमा आउने ग्यारेन्टी गर्नुपर्छ ।’
उच्चस्तरीय राजनीतिक समितिका संयोजकसमेत रहेका कोइरालाले वैद्यलाई सहमतिमा ल्याउन आफूले निरन्तर छलफल गरिरहेको बताए । ‘निर्वाचनमा सहभागी भएर मुलुक निकास दिन मेलै आज पनि (सोमबार) वैद्यजीलाई आग्रह गरेँ,’ उनले भने, ‘उहाँले पार्टीको बैठक चलिरहेको बताउनुभएको छ ।’ उनले मुलुकलाई निकास दिन चुनावबाहेक विकल्प नभएको बताए ।
कांग्रेस नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे शंका नगर्न सबैसंग आग्रह गरे । ‘तोकिएको समयमै निर्वाचन हुन्छ, शंका कसैलै गर्नु हुन्न, जसरी पनि मंसिरमै संविधानसभाको निर्वाचन हुन्छ,’ उनले भने ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाटै नयाँ संविधान निर्माण हुने बताए । ‘नेकपा-माओवादी संविधानसभा निर्वाचनबाट संविधान बन्दैन भन्दैछ, हामी के भन्छौं भने मुलुकको निकास संविधानसभा नै हो,’ उनले भने ।