नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले एकल जातीय पहिचानको एजेण्डाकै कारण यसपटकको निर्वाचनमा एकीकृत नेकपा माओवादी तेस्रो स्थानमा पुग्ने बताउनुभएको छ ।
बिभिन्न जातजातिको मिश्रित बसोबास रहेको नेपालमा बहुजातीय पहिचान सहितको संघीयताको पक्षमा रहेको एमाले ठूलो पार्टी बन्ने उहाँले दाबी गर्नुभयो ।
भरतपुरमा बुधबार प्रेस चौतारी चितवनले गरेको कार्यक्रममा पाण्डेले माओवादीको राज्य पुनर्संरचनाको प्रस्तावमा चितवनलाई खण्ड खण्ड पार्ने प्रस्ताब भएकाले उसले जित्ने संभावना नभएको जिकिर गर्नुभयो ।
आर्थिक अभावका कारण नागरिकमा असन्तुष्टी बढेकाले आर्थिक क्रान्ति मुलुकका लागि अपरिहार्य रहेको भन्दै उहाँले त्यसको लागि पहिले संविधान आवश्यक रहेको बताउनुभयो । स्थानीय निकाय जनप्रतिनिधिबिहीन हुँदा अरबौं बजेटको सदुपयोग हुन नसकेको पाण्डेले बताउनुभयो ।