एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष र निलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयूक्त बनाउनु गम्भीर गल्ती भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले बुधबार गरेको साक्षात्कारमा सापकोटाले रेग्मी र उप्रेतीले आफुहरुले कल्पना पनि गर्न नसक्ने गरी शुक्ष्म धाँधली गरेको आरोप लगाउनुभयो । उहाँले प्रायोजित र षड्यन्त्रमुलक ढंगले लामो समयदेखि डिजाइन गरेर धाँधली गरेको दावी गर्दै छानविन समिति नबनेसम्म संविधानसभामा नजाने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक मधेस प्रदेश नभए देश टुक्राउने चेतावनी दिनेलाई मधेसी नागरिकले नै अस्विकृत गरेका बेला मधेसी मुलका राष्ट्रपति र उपराष्ट्रपतिलाई हटाएर मधेसी नागरिकलाई खिन्न बनाउन नहुने तर्क गर्नुभयो । अब कुनैपनि कुरामा नअल्झी संविधान निर्माणको काममा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
संघीय सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाले १ वर्षभित्र संविधान निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गरिएकोले असंबैधानिक रुपमा राष्ट्रपति परिवर्तनमा लाग्न नहुने तर्क गर्नुभयो ।
नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नयाँ जनादेश आइसकेपछि पुराना पदहरु रहन नसक्ने भन्दै राष्ट्रपति र उपराष्ट्रपतिलाई संविधानसभाबाट अनुमोदन गराउनैपर्ने बताउनुभयो ।