थाइल्याण्डमा विपक्षीको बहिष्कार र चर्को सरकार विरोधी प्रदर्शनकाबीच आमचुनाव

थाइल्याण्डमा विपक्षीको बहिष्कार र चर्को सरकार विरोधी प्रदर्शनकाबीच आज आमचुनाव भएको छ । प्रदर्शनकारीहरुले मुलुकभर मतदान प्रक्रिया विथोल्ने चेतावनी दिंदै गर्दा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । सरकार विरोधी प्रदर्शन उग्र बन्दै गएपछि संकटकाल लगाइएको बेला मतदान भएको हो ।
बैंककमा १२ हजार सहित मुलुकभर १ लाख ३० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले मतपत्र राखिएको स्थलसम्म पुग्न सरकारी अधिकारीहरुलाई अवरोध गरेको समाचार छ । निर्वाचन आयोगले विभिन्न कारणबाट करिब १० प्रतिशत मतदान स्थलमा मतदान हुन नसक्ने अनुमान गरेको छ ।
प्रधानमन्त्री यिङलक शिनावात्राको राजीनामा माग गर्दै विरोधीहरु गत नोभेम्बर देखि प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले जनपरिषद् गठन गरी राजनीतिक सुधार पछि मात्र चुनाव गर्नु पर्ने माग अघि सारेका छन् । चुनावमा यिङलकको पार्टीले जित्ने अनुमान गरिएको छ ।
सरकार विरोधी प्रदर्शन बढ्दै गएपछि प्रधानमन्त्री यिङलकले सीनेटमा आफ्नो दलको बहुमत हुंदा हुंदै पनि मध्यावधी निर्वाचनको घोषणा गर्नु भएको थियो । विपक्षीहरुले निर्वासनमा रहेका पूर्व प्रधानमन्त्री थाक्सिन शिनावत्राको प्रभावमा यिङलकको सरकार संचालन हुने गरेको आरोप लगाउँदै आएका छन् । निर्वासनमा रहेका थाक्सिन यिङलकका दाजु हुन् ।
AGENCIES