काठमाडौं, माघ १९ । सरकारले हात्तीपाईले रोग निवारणका लागि यही माघ २५ गतेदेखि राष्ट्रिय आम औषधि सेवन अभियान शुरु गर्ने भएको छ । डेढ करोड जनसंख्यालाई समेट्ने उद्देश्यका साथ सुरु हुन लागेको अभियान हाल सम्मकै सबैभन्दा ठूलो जनस्वास्थ्य अभियान हुने जनाइएको छ ।
करिब ३० करोड रुपैया खर्च हुने अनुमान गरिएको यो अभियानका लागि दुई चरणमा गरी ११ हजार दुई सय ६५ जना स्वास्थ्यकर्मी र ७६ हजार नौं सय ६१ जना स्वयंसेवकहरु परिचालन गरिने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाले आज राजधानीमा पत्रकार सम्मेलन गरी पहिलो चरणमा ३१ जिल्ला र दोस्रो चरणमा ९ जिल्लामा तीन दिनसम्म स्वस्थ्य स्वयंसेवकहरुको प्रत्यक्ष निगरानीमा हात्तीपाईले रोगको औषधी खुवाउने जानकारी दिएको हो ।
पहिलो चरणअन्तर्गत माघ २५, २६ र २७ गते भोजपुर, इलाम, झापा, मोरङ, ओखलढुंगा, पाँचथर, सप्तरी, दाङलगायत ३१ जिल्लाहरु र दोस्रो चरणमा काठमाडौं, भक्तपुर, ललितपुर, धनकुटा, तेह्रथुम, अछाम, बझाङ, बाजुरा र दार्चुलामा फागुन १० देखि १२ सम्म हात्तीपाईले रोगको औषधी खुवाइने छ।
क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट सर्ने यो रोग कुष्ठ रोग जस्तै शारीरिक असक्तता र अपाङग बनाउने रोग हो । विश्वका ७० भन्दा बढी मुलुकहरुमा यो रोग पाईएको छ भने १२ करोड मानिसहरु यो रोगबाट संक्रमित रहेको जनाइएको छ ।
यी मध्ये डेढ करोड मानिसमा हात्तीपाईले र साढे दुई करोडमा अण्डकोष तथा यौनाङ्ग सुन्निएको गरेको पाइएको छ भने बाँकी दुई तिहाई मानिसमा साधारण खाले लक्षणहरु देखिने गरेका छन् । IMAGECHANNELS