साहित्यकार कृष्णप्रसाद पराजुलीको ७९ वर्षको उमेरमा निधन

साहित्यकार कृष्णप्रसाद पराजुलीको ७९ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनी लामो समयदेखि त्रिवि टिचिङ अस्पतालमा उपचार गराइरहेेेका थिए। 
भाषा, साहित्य र लोकसंंगीतमा योगदान पुर्‍याएका पराजुलीको ‘राम्रो रचना र मीठो नेपाली’ लोकप्रिय छ। 
उनी लामो समयदेखि मधुमेह र मृगौला रोगबाट पीडित थिए । निमोनिया र श्वासप्रश्वास सम्बन्धी रोगले समेत च्यापेपछि दुई सातायता उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।  
पराजुलीका कविता, कथा, भाषा-व्याकरण, लोकसाहित्य र बालसाहित्यका गरी पाँच दर्जनजति पुस्तक प्रकाशित छन् । मूलतः कविका रूपमा स्थापित पराजुलीले आख्यान र गैरआख्यान दुवैमा प्रभाव जमाएका थिए । ‘राम्रो रचना, मीठो नेपाली’, ‘रमाइला नानी’, ‘पन्ध्र तारा र नेपाली साहित्य’, ‘नेपाली लोकगीतको आलोक’ जस्ता उनका पुस्तक लोकपि्रय
मानिन्छन् । ‘आँखाभरि सपना, मुटुभरि गीत’, ‘सय थुँगा फूल’, ‘नौबेली’, ‘चार चङेरी’, ‘नेपाली अध्ययन तथा अभिव्यक्ति’, ‘पूर्व एक नम्बर’, ‘प्रयोगात्मक भाषातत्त्व’, ‘भाषाको माया’, ‘हिमाली डाँफे’,  ‘जीवनबेली’, ‘कथा आँसुको’, ‘पूर्वी पाइला पश्चिमी देशमा’, ‘शिखरयात्रा’, ‘देउरालीबाट’ आदि उनका अन्य लोकपि्रय पुस्तक हुन् । उनका कुनैकुनै पुस्तक तीसौं संस्करणसम्म प्रकाशित भएका छन् ।
जीवनको अन्त्यतिर अस्पताल भर्ना हुनुअघिसम्म पनि उनी लेखन र अध्ययनमा क्रियाशील थिए । उनले पछिल्लो समय लेखेको ‘मनमाया’ महाकाव्य प्रकाशोन्मुख छ । महाकाव्यमा गाउँघरको शोषण, बेरोजगारी समस्या, युवाको देशबाहिर पलायन तर देशको प्रेममा अभिभूत तिनको कर्म, मायाको दिव्यता र स्थायित्वको कथा रहेको छ ।
‘लेख्नु चटक होइन, खार्न र निखार्न लागिरहनुपर्छ’ भन्ने उनको मान्यता थियो । बालसाहित्यका प्रशस्तै पुस्तक लेखेका उनलाई स्नेहसाथ ‘नानीका कवि’ पनि भन्ने गरिन्छ । उनले थुप्रै ग्रन्थ, पत्रिका र सयौं पुस्तकको सम्पादन पनि गरेका थिए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश सम्पादक मण्डलमा रहेर पनि काम गरेका थिए । काभ्रेको भँवरकोटमा १९९२ असार २४ मा जन्मेका पराजुलीले लामो समय त्रिविमा प्राध्यापन गरेका थिए । औपचारिक शिक्षा कम भए पनि स्वाध्ययन र कृतिगत योगदानका कारण त्रिविमा प्राध्यापन गर्ने कमै व्यक्तित्वमध्ये उनी पनि एक थिए ।
उनले जगदम्बाश्री, राष्ट्रिय प्रतिभा, लोकसाहित्य, बालहितकारी, नुरु-गंगालगायत दर्जनौं पुरस्कार प्राप्त गरेका थिए । सुनकोसी साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष रहेका उनी विभिन्न संघसंस्थामार्फत साहित्यिक क्रियाकलापमा क्रियाशील थिए ।
पराजुलीको बिहीबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका श्रीमती, तीन छोरी र दुई छोरा छन् । उनका जेठा छोरा शाश्वत पनि लेखनमा सक्रिय छन् ।
 RSS, EKANTIPUR
प्रकाशित मिति: २०७० चैत्र २१