वैशाख २२ । उत्तरी आयरल्याण्डमा सन् १९७२ मा भएको हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ गरिएका सिन फिन पार्टीका नेता जेरी आडम्सलाई चार दिनपछि रिहा गरिएको छ । जियन म्याककन्भिलेको हत्याकाण्डमा नाम मुछिएपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका आईआरएका पूर्व कमाण्डर आडम्सलाई चार दिनसम्म सोधपुछ गरेपनि घटनामा संलग्नताबारे ठोस प्रमाण नभेटिएपछि रिहा गरिएको हो ।
म्याककन्भिलेको हत्यामा जोडेर आफूविरुद्ध भ्रामक अभियान छेडिएकोमा आक्रोशित आडम्सले आफू संलग्न नभएको र निर्दोष रहेको बयान दिएका थिए । पूर्व सांसदसमेत रहेका आडम्सले एक निर्वाचन अभियानको मध्यतिर आफूविरुद्ध यो आरोप लगाइनु दुराशययुक्त रहेको जिकीर गरे ।
उत्तरी आयरल्याण्डमा राजनीतिक ढंगबाटै सबै समस्याको समाधान खोज्नुपर्नेमा आफ्नो सिन फिन पार्टी प्रतिवद्ध रहेको भन्दै ६५ बर्षीय आडम्सले आईआरएको सवाल अब निकै पुरानो र सिद्धिइसकेको प्रष्ट गरे । जियानको अपहरण, हत्या हुँदै शवलाई लुकाउनु गलत थियो भन्दै त्यसमा कुनै पनि प्रकारले आफ्नो संलग्नता नरहेको बताएका थिए । आयरल्याण्डको इतिहासमा कुनै पनि प्रभावशाली नेताले आत्मसमर्पण गरेको यो पहिलो घटना थियो । एडम्स सन् १९७१ मा बेलफास्टमा थिए ।
३७ बर्षीया विधवा जियानलाई दक्षिणी बेलफास्टबाट पृथकतावादी आईरिस रिपब्लिकन आर्मी आईआरएले घरबाट अपहरण गरी गोली हानेर हत्या गरिएको थियो । मृतकका परिवार १२ बर्षदेखि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै न्यायकालागि भौतारिइरहेका छन् । AGENCIES