काठमाडौ, जेष्ठ २३ – रातो पासपोर्ट दुरुपयोग गरेको ठहर गर्दै जिल्ला अदालतले तीन पूर्वसभासदलाई ५ महिना कैद हुने फैसला गरेको छ ।
न्यायाधीश अर्जुनप्रसाद अधिकारीको इजलासले पूर्वसभासदहरू गायत्री शाह, शिव पुजन र विश्वनाथ प्रसाद यादवलाई ५ महिना कैद र ५ सय रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । सरकारी कागजमा किर्ते गरेको ठहर भएका यादवलाई थप १ वर्ष कैद हुने पनि फैसला भएको छ । उनीहरूलाई प्रहरीले कूटनीतिक राहदानी दुरुपयोग भएको प्रमाणसहित दुई वर्षअघि पक्राउ गरेको थियो ।
यादवको ०१९८९३ रातो राहदानीमा पृथ्वी छन्त्याल नामका व्यक्ति गएका थिए भने साहको ०९९८२७ नम्बरको राहदानीमा सीता साह
गएकी थिइन् । दुवैले सभासदद्वयको तस्बिर निकालेर राहदानीमा आ-आफ्नो तस्बिर हालेका थिए । किर्ते काम गरेर विदेश गएको र जान सहयोगी भूमिका निर्वाह गरेका दलालहरू दिलबहादुर घर्ती, मनोज कार्की, सन्तोषराज उप्रेती तथा पृथ्वी छन्त्याललाई जनही १ वर्ष कैद भएको छ ।
EKANTIPUR
प्रकाशित मिति: २०७१ जेष्ठ २३