एमालेमा प्रतिवेदनबारे समूहगत छलफल हुँदै

नेकपा एमालेको नवौं महाधिवेशनमा सोमबार पनि प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ ।
केही समूहमा आइतबारदेखि नै छलफल भएपनि टोली नेता चयनमा विवाद भएपछि धेरै समूहले छलफल नै थालेका छैनन् ।समूहगत छलफलका लागि १९ वटा टोली गठन भएकोमा सगरमाथा र भेरी अञ्चलमा टोली नेता चयन हुन बाँकी छ । 
अध्यक्षका आकांक्षी वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली पक्षधरबीच विवाद बढेपछि टोली नेता चयनको लागि पनि चुनाव भएको छ ।
१० अञ्चल समूहमा निर्वाचन र ७ समूहमा सर्वसम्मत रुपमा टोली नेता चयन भएको एमालेले जनाएको छ । सोमबार दिनभर समूहगत रुपमा छलफल र टोली नेताले प्रस्तुतिकरण गर्ने कार्यक्रम छ ।
यसअघि प्रस्तुत भएको राजनीतिक, सांगठनिक, विधान संशोधन, अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम भएको महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । 
काठमाडौमा गएको विहीबार सुरु भएको एमाले महाधिवेशन बुधबार सक्ने कार्यक्रम भएपनि नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने या नगर्ने विवाद सुल्झन नसकेकोले लम्बिन सक्ने सम्भावना छ ।