श्रावण २३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी स्वार्थमा चोट पुर्याइरहे इस्लामिक अतिवादी नियन्त्रित उत्तरी इराकमा हवाई आक्रमण गर्ने चेतावनी दिएका छन् ।
यद्यपि, अमेरिकी सैनिकलाई इराकमा फेरि तैनाथ भने नगरिने उनले स्पष्ट गरेका छन् । अल्पसंख्यकको जातीयसंहार रोक्न अमेरिकाले जुनसुकै कदम चाल्ने ओबामाको भनाइ थियो ।
अल्पसंख्यक क्रिस्चियनहरुको बसोबास रहेको इराकको ठूलो सहर क्वाराक्वसमा आइएसआइएस विद्रोहीले कब्जा गरेर स्थानीयको हत्या गरेपछि क्रूद्ध बनेको अमेरिकाले यस्तो चेतावनी दिएको हो । विद्रोहीहरु इरबिल सहरतर्फ अगाडि बढे आक्रमण थालिने ओबामाको चेतावनी छ ।
अल्पसंख्यक याजादीहरुको वस्ती रहेको उक्त स्थानमा आक्रमण गरिएपछि दशौं हजार सर्वसाधारण घर छाडेर नजिकैको पहाडमा सरण लिन पुगेका छन् ।
यसैबीच, आइएसआइएसको आक्रमणमा परेका उत्तरी इराकका सर्वसाधारणका लागि अमेरिकाले खाद्य सहयोग गर्ने निर्णय पनि गरेको छ । द्धन्द्ध प्रभावितहरुका लागि अमेरिकी सैनिकले विमानबाट अत्यावश्यक खानेकुरा, पानीलगायतका सामग्री खसाल्ने घोषणा पेन्टागनले गरेको हो ।
यता, राष्ट्रसंघीय सुरक्षा परिषदले भने जिहादी समूहले गरेको आक्रमणको निन्दा गरेको छ । राष्ट्रसंघका महासचिव बान की मुन र परिषदका सदस्यहरुले गृहयुद्धबाट प्रताडित भएकाहरुलाई सहयोग गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । (एजेन्सी)