युक्रेनमा रुस समर्थक विद्रोहीहरुको कब्जामा रहेका १२ सय बन्धकलाई रिहा गरिएको छ । युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले विद्रोहीहरुले १२ सय बन्धकलाई रिहा गरेको जानकारी दिए ।
गत शुक्रबार सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौताअनुसार विद्रोहीहरुले ती बन्धकलाई रिहा गरेको जानकारी उनले दिए ।
युद्धविरामको क्रममा दुवै पक्षको कब्जामा रहेका बन्धकहरु साटासाट गर्ने सहमति पनि भएको राष्ट्रपति पोरोसेन्कोले बताए ।
सामरिक रुपमा महत्वपूर्ण सहर मरिउपोलको भ्रमणका क्रममा राष्ट्रपति पोरोसेन्कोले यसबारे मुख खोलेका हुन् । पछिल्ला दिनहरुमा रुस समर्थित विद्रोहीहरुले सो सहरमा भीषण गोलाबारी गर्दै आएका छन् ।
यसैबीच, युरोपियन युनियनका सदस्य राष्ट्रले युक्रेनमा जारी संकटमा जिम्मेवार रहेको भन्दै रुसविरुद्ध औपचारिक रुपमै नयाँ प्रतिबन्ध लगाएका छन् । नयाँ प्रतिबन्ध रुसी स्वामित्वका तेल कम्पनीहरुमाथि लगाइएको छ । जसको ठूलो बजार युरोपियन देशहरुमा रहेको छ ।
यो नयाँ प्रतिबन्ध केही दिनभित्रै लागू हुने बताइएको छ । रुसले भने युक्रेनमा जारी संकटमा आफ्नो भूमिका अस्वीकार गर्दै आएको छ । AGENCIES