नेपाल पत्रकार महासंघ रुपन्देहीद्धारा पुरस्कार वितरण, नयाँ बर्ष अधिकार स्थापनाको बर्षः विष्ठ

कृष्ण खनाल 
बुटवल, २१ चैत । नेपाल पत्रकार  महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले आगामी नयाँ बर्ष २०७२  श्रमजिवी पत्रकारहरुको अधिकार स्थापना बर्षको रुपमा  रहने बताएका छन् । उनले सञ्चार माध्यममा काम गर्ने श्रम जिवी पत्रकारहरुको नियुक्ती पत्र, न्युनतम पारिश्रमीक देखि लिएर दुर्घटना विमा समेत व्यवस्था लागिएको भन्दै यसको लागि सैदान्तिक सहमती भएपनि व्यवहारिक कार्यन्वयन हुन नसकेको बताएका छन् । 
शनिवार नेपाल पत्रकार महासंघ रुपन्देहीले आयोजना गरेको विभिन्न पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका डा. विष्टले अव पत्रकारहरुको क्षमता विस्तार, दुर्घटना विमा र  महासंघका सदस्यहरुको सुद्धिकरण अभियान सुरु गरिने बताएका थिए । श्रमजिवी पत्रकार ऐन २०५१ लागु भईसकेपनि त्यसको व्यवाहारिक कार्यान्वयन नभएको भन्दै अध्यक्ष विष्टले भने – सरकारसंग सैदान्तिक समहमती भएको छ तर व्यवहारिक कार्यान्वयनमा कठिनाई छ, त्यसको लागि हामी आन्दोलनको जस्तो सुकै कार्यक्रम समेत ल्याउन तयार छौ ।
कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रीय अध्यक्ष मोहन चापागाईले पत्रकारहरु आफ्नो निहित स्वार्थ भन्दा माथि आउनु पर्ने भन्दै पत्रकारिता व्यवसायीकता भन्दा पनि व्यापारिकरण हुदै जानु जटिल अवस्था रहेको औलाएका थिए । त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यालय प्रमुख धु्रव बहादुर खड्का ले रुपन्देहीका सञ्चार माध्यमसंग नगरको सहकार्य  जारी रहेको भन्दै आगामी दिनमा पनि आफ्नो सहकार्य जारी रहने बताएका थिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाइर््ले मिडिया सञ्चालनको कठिन भएको भन्दै त्यसको लागि दिर्घकालिन सोँच जरुरी रहेको बताएका थिए ।  प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य  दीपक ज्ञवाली, बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल कुमार श्रेष्ठ, रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोखरेल, रुपन्देही उद्योग संघका सदस्य जिवकान्त काफ्ले , नेपाली कांग्रेस महासमिति सदस्य युवराज गिरी, नेकपा एककिृत  केन्द्रीय सदस्य लक्ष्मीकान्त पोखरेल, प्रेस चौचारी रुपन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस युनियन रुपन्देहीका अध्यक्ष विक्रम खड्का, क्रान्तिकारी पत्रकार संघका उपाध्यक्ष ओम पंगेनी, प्रगतीशिल पत्रकार संघका जिल्ला अध्यक्ष श्याम लाल पोखरेल लगायतले बोलेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष शेर बहादुर पोखरेलको अध्यक्षता उपाध्यक्ष यानेन्द्र जिसीको सञ्चालन र सचिव रुद्रहरी कुँवरको सञ्चालनमा भएको थियो । 
चार जना पत्रकार पुरस्कृत
नेपाल पत्रकार महासंघ रुपन्देहीले उत्कृष्ट पत्रकारिता पुरस्कार र विकास पत्रकारीता पुरस्कार शनिवार वितरण गरेको  छ । उत्कृष्ट पत्रकारीता पुरस्कार २०७० बाट नेपाल टेलिभिजनका बुटवल संवाददाता  हरिश ढकाललाई पुरस्कृत गरेको छ । पुरस्कारको राशि नगद १५ हजार सहित प्रमाणपत्र रहेको छ । 
यस्तै प्रकाश स्मृती विकास पत्रकारीता पुरस्कारबाट तीन जनालाई पुरस्कृत गरिएको छ । विकास पत्रकारीता पुरस्कार २०६६ बाट अन्नपूर्ण पोष्टका पत्रकार महेन्द्र थापा, २०६७ बाट नयाँ पत्रिका दैनिकका पत्रकार विष्णु घिमिरे र २०६९ बाट कान्तिपुर दैनिकका पत्रकार अमृता अनमोल पुरस्कृत भएका छन् । विकास पत्रकारीता पुरस्कारको राशि नगद १० हजार सहित प्रमाणपत्र रहेको छ । 
उत्कृष्ट पत्रकारीता पुरस्कार बुटवल उपमहानगरपालिका र प्रकाश स्मृती विकास पत्रकारीता पुरस्कार उद्योगी श्याम पाठकले स्थापना गरेका हुन् । पुरस्कार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्ट, बुटवल उपमहानगरपालिकाका प्रमुख धु्रवबहादुर खड्का र प्रविण पाठकले संयुक्त रुपमा प्रदान गरेका हुन् ।