काठमाडौंबाट दोहा हुँदै ईटालीको रोम लैजान लागिएको ११ केजी लागूऔषध कोकिन सहित एक मलेशियन महिला पक्राउ

११ केजी कोकिन सहित मलेशियन महिला पक्राउ
काठमाडौं – काठमाडौंबाट दोहा हुँदै ईटालीको रोम लैजान लागिएको ११ केजी लागूऔषध कोकिन सहित एक मलेशियन महिलालाई प्रहरीले पक्राउ गरेको छ। लागू औषध नियन्त्रण व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट राहदानी नम्वर ए ३४८९१३८१ वाहक मलेसियन नागरिक ३६ बर्षीया मरिना बिन्ति जमालुद्धिनलाई पक्राउ गरेको हो।
 
क्यू.आर. ६५१ को उडानद्वारा काठमाडौँबाट दोहा जानेक्रममा उनलाई ५ वटा ल्यापटप ब्यागमा लुकाई राखेको कोकिन सहित पक्राउ गरेको हो। उनले ५ वटै ब्यागमा कोकिनलाई ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
यसअघि मलेशिया, दिल्ली हुँदै रोमतर्फ लाने गरेकी जमालुद्धिनले पहिलो पटक नेपालको बाटो प्रयोग गरेकी हुन्। उनले ब्राजिलबाट दोहा, दोहाबाट काठमाडौँ हुँदै इटालीको रोम पुर्याोउनको लागि उक्त कोकिन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उक्त लागूऔषध कोकिन अन्तर्राष्ट्रिय बजारमा प्रति के.जी. करीव डेढ करोड रुपैयाँमा कारोवार हुने गर्दछ।
जमालुद्धिन १५ मार्चमा मलेसियाबाट ब्राजिल र २८ मार्चमा दोहा हुँदै काठमाडौँ उडेकी थिइन्। यसअघि पनि आफुले मलेसियाबाट दिल्ली हुँदै धेरै पटक लागूऔषधको ओसारपसार गरे पनि नेपालको बाटो पहिलो पटक प्रयोग गरेको प्रहरी बयानको क्रममा खुलेको छ। लागूऔषध कोकिन दिने व्यक्तिले सुरक्षाको कारण आफूलाई नेपालको बाटो प्रयोग गर्न लगाएको उनले बताएकी छन्। प्रारम्भिक अनुसन्धानको क्रममा ब्राजिलबाट लागू औषध लिई उड्दा १ हजार डलर पाएको र गन्तव्यमा पुर्याबएपछि थप ५ हजार डलर पाउने बयानमा बताएको प्रहरीले जनाएको छ।
काठमाडौं लाजिम्पाटको एक अपार्टमेन्टमा बस्ने ती महिलाको नेपालमा कुनै लागूऔषध कारोवारीसँग सम्बन्ध नभएको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ। यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको । नागरिकन्युजमा समाचार छ ।