नेपालगन्ज – काम गरेर घर फर्किदै गरेका नेपालीको समूहलाई भारतीय अपराधिक समूहले बन्धक बनाएर राखेको खुलासा भएको छ। भारतको गोण्डा स्थित रेलस्टेशन नजिकै अपराधिक समूहले करिव १० जना नेपालीलाई सुई लगाएर बेहोस अवस्थामा बन्धक बनाएको त्यहाँबाट फुत्केर आएका नेपाली युवकले बताएका छन्।
नागरिकन्युजमा समाचार छ । अपराधिक समूहले १२ जना नेपालीलाई बन्धक बनाएकोमा दुई जना युवक उक्त समूहको घेराबन्दीबाट फुत्केर नेपाल आउन सफल भएका हुन्। फुत्केर आउनेमा प्यूठान, धर्मवती गाविस वडा नम्बर ४ का २४ वर्षीय सुरज कुमाल र सोही ठाउँका १७ बर्षीय माने कुमाल रहेका छन्। ‘रेलमा चढेको अवस्थामा एक्कासी हामीलाई लुटेरा समूहले नियन्त्रणमा लिएर सिधै एउटा कोठामा पुर्यायए,’ प्रहरीलाई बयान दिदै युवक द्धयले भने ‘जवरजस्ती सुई लगाएपछि अरु केही थाहा भएन। होस खुलेपछि मात्रै लुटिएको थाहा भयो।’
दुबै जना युवक अर्धवेहोस अवस्थामा शनिबार भारतको रुपैडिहा नाका हुदै नेपालगन्ज आइपुगेका हुन्। सिमानामा रहेको ईलाका प्रहरी कार्याल जमुनाहा ईन्चार्ज प्रहरी नायव निरिक्षक कृष्ण सोनीले फुत्केर आएका दुई जनाको बयान अनुसार त्यहाँ १० जना नेपालीलाई गोण्डा रेल स्टेशन नजिकैको घरमा बन्धक बनाएको बताएका छन्।
बन्धकमा रहेका १० जना मध्ये एक जना बृद्ध समेत रहेको फर्किएका युवकले बताए। बन्धक बनाइएका नेपाली मध्ये प्यूठानकै अशोक कुमाल र नारायण कुमालको पहिचान भइसकेको जमुनाहा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भारतको पन्जाबबाट काम गरेर गोण्डा हुदै नेपालीहरु घर फर्किदै गरेका थिए।
आपराधिक समुहले सुरजको साथमा रहेको २२ हजार र मानेको साथमा रहेको २९ हजार ५ सय भारतीय रुपैयाँ लुटेको पीडितले जमुनाहा प्रहरीलाई बताएका छन्। ‘नजिकै प्रहरी भएको भए पनि गुहार माग्थ्यौ होला। तर त्यो ठाउँमा प्रहरी पनि नहुदो रहेछ,’ युवकले भने। नेपालीलाई बन्धक बनाएको विषयमा आफुले रुपैडिहा स्थित भारतीय प्रहरीलाई पहल गरिदिन आग्रह गरेको प्रहरी ईन्चार्ज सोनीले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सुशील सिंह राठौरले दुई नेपाली लुटिएर बेहोस अवस्थामा फर्किएको जानकारी आफुकहाँ आएपनि नेपालीलाई बन्धक बनाएको कुरा आफुकहाँ जानकारी आई नसकेको बताए। ‘नेपाली लुटिएको घटना सार्वजनिक भएपछि मैले जमुनाहाका ईन्चार्जलाई अनुसन्धान गर्न लगाएको थिए,’ उनले भने ‘रुपैडिहाको प्रहरीसँग समन्वय गरेर लुटिएको घटना बुझ्न लगाएको छु।’ भारतमा काम गरेर घर फर्किने नेपाली पटक-पटक लुटिदै आएका छन्। तरपनि यसको रोकथाम हुन सकेको छैन। मध्यपश्चिमका विभिन्न जिल्लाबाट काम गर्न भारत पुगेका नेपाली कमाई पछि रुपैडिहा नाका हुदै घर फर्किन्छन्। तर उनीहरु सुरक्षित रुपमा घर फर्किन सक्दैनन्। नागरिकन्युजमा समाचार छ ।