महाभूकम्पमा मृत्यु हुनेको संख्या ८ हजार ४६, १७ हजार ८ सय ६६ घाइते

काठमाडौँ । वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी हालसम्म मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६ पुगेको छ ।
गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट १७ हजार ८ सय ६६ घाइते भएका छन् ।
सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्लामा तीन हजार १०७ को मृत्यु भएको छ भने काठमाडौँमा एक हजार दुर्इ सय २२ को मृत्यु भएको छ ।
भूकम्पका कारण १० हजार ८ सय ३ सरकारी घर तथा भवन पूर्णरूपमा क्षति भएका छन् । आंशिक रूपमा १५ हजार ३४ घर तथा भवन क्षति भएका छन् ।
सर्वसाधारणका दुई लाख ९६ हजार ९०३ घर पूर्ण क्षति भएका छन् भने आंशिक दुई लाख ७७ हजार ५० घर क्षति भएका छन् । भूकम्पमा परेकाहरुको उद्धार तथा राहतको कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।
यसैबीच यो समाचार तयार पार्दासम्म आज भूकम्पको कुनै पराकम्पन महसुस नभएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजोमात्र चार रिक्टर स्केलमाथिको चारवटा पराकम्पन महसुस भएको थियो ।
वैशाख १२ गतेको ७.६ रिक्टर स्केलको भूकम्पपछि हालसम्म चार रिक्टरमाथिका १६० वटा पराकम्पन महसुस भएका छन् । अन्लाईनखबरमा समाचार छ । 
हराएका व्यक्तिको खोजीमा डेस्क
प्रहरीले हराएका स्वदेशी तथा विदेशी नागरिकको विवरण संकलन तथा खोजीका लागि छुट्टै डेस्क स्थापना गरेको छ । प्रहरीका अनुसार ‘मिसिङ पर्सन डेस्क’बारे प्रहरीले भनेको छ-
यहि २०७२ बैशाख १२ गते गएको भूकम्पबाट हराई रहेका स्वदेशी तथा बिदेशी नागरिकहरुको विवरण संकलन तथा खोजतलासको लागि Missing Person Desk स्थापना भई कार्य संचालन भईरहेको जानकारी गराईन्छ ।
विस्तृत जानकारीका लागि http://www.missingperson.gov.np/ हेर्न हुन अनुरोध गर्दछौं।
बेपत्ता भएको भनि दर्ता गरिएको व्यक्तिको बारेमा थप सूचना प्राप्त भएमा 01-4412748,01-4414643, मो.नं.: 9849091139, टोल फ्रि नं. : 16600141516 अथवा email: khojtalas@nepalpolice.gov.np मा जानकारी दिनुहुन समेत अनुरोध गर्दछौं ।