विनाशकारी भूकम्पले भत्काएका घरहरु बनाउन पीडितहरु आफैं कस्सिन थाले

बनेपा । दशौं हजार नागरिकको ज्यान जाने गरी आएको विनाशकारी भूकम्पले भत्काएका घरहरु बनाउन पीडितहरु आफैं कस्सिन थालेका छन् ।
भूकम्पले घर भत्किएपछि लाखौं मानिस पालमुनी बस्न बाध्य छन् । भूकम्पले छानो उजाडिएकाहरु राहतको पर्खाइमा नभएका होइनन् ।
तर कसैले आएर घर बनाइदेला भन्नेमा धेरैलाई विश्वास छैन । त्यसैले काभ्रेका अधिकांश मानिसहरु आफ्नो भत्किएका घरका प्रयोग गर्न मिल्ने सामानहरु निकाल्दै आफ्नो घर बनाउँन कस्सिएका छन् ।
भूकम्पपछि पनि पराकम्प आउने क्रम नरोकिएकोले मानिसहरुमा त्रासदी पनि उस्तै छ । त्यसैले काभ्रेवासीहरु ओतलाग्ने र फेरि अर्को भूकम्पले पनि क्षति नगर्ने घर बनाउन लागि परेका छन् ।
भूकम्पले लाखौं मानिसहरुको ओत लाग्ने ठाउँ नरहेपछि राजनीतिक दलका कार्यकर्तादेखि विभिन्न संघसंस्थाहरु पीडितका लागि अस्थायी टहरा बनाउने अभियान पनि चलाएका छन् ।