महाभूकम्पबाट देशभरका न्यायालयसमेत प्रभावित, आँगनमा पाल टाँगेर सेवा दिन थालियो

 काठमाडौं- वैशाख १२ गतेको महाभूकम्पबाट देशभरका न्यायालयसमेत प्रभावित भएका छन्। सर्वोच्च, जिल्ला र पुनरावेदन अदालतका भवन क्षतिग्रस्त भएपछि न्यायसेवा प्रभावित भएको छ। अन्य अदालतजस्तै सर्वोच्च अदालतको मुद्दा सुनुवाइ हुने मुख्य भवनमा इजलास सञ्चालन गर्न नसकिने भएपछि आँगनमा पाल टाँगेर सेवा दिन थालिएको छ।
तत्काल नयाँ भवन निर्माण हुने सम्भावना नभएकाले हाललाई अस्थायीरूपमा सञ्चालन गर्न सर्वोच्चसँगै रहेको न्यायपरिषदको भवन र आँगन प्रयोग गरिएको छ। दैनिक कामकाज सञ्चालनमा ल्याइएको सर्वोच्चका सहप्रवक्ता बाबुराम दाहालले बताए। मूलभवनमा रहेका फाइल निकालेर तारेख दिने, निवेदन दर्ता गर्ने, बन्दीका मुद्दा दर्ता गर्ने र पेसी व्यवस्थापन गर्ने काम सुरु गरिएको दाहालले बताए।
दैनिक मुद्दाको सुनुवाइ गर्न कसरी इजलास सञ्चालनमा ल्याउने भन्ने दुविधा अझै बाँकी छ। हाल इजलास रहेको भवनमा सञ्चालन हुन नसक्ने र नयाँ निर्माण गर्न समय लाग्ने भएकाले समयमै अदालत सञ्चालनमा ल्याउन नसकिएको दाहालले बताए। सर्वोच्चको एनेक्स भवनमै भए पनि इजलास निर्माण गरी सेवा दिने तयारी भइरहेको उनले बताए।
अन्य जिल्लाको भवनमा पनि क्षति पुगेको भए पनि दुई जिल्लाबाहेक अन्यमा न्याय सम्पादनको काम नगरिएको दाहालले बताए। सिन्धुपाल्चोक र दोलखाको मुख्य भवन नै चर्केको छ।
देशभरका न्यायसेवा प्रभावित भएको प्रति राष्टपति रामवरण यादवले चासो देखाएलगत्तै कानुनमन्त्री आचार्यले प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र अन्य वरिष्ठतम न्यायाधीशसँग छलफल गरेका थिए।
सो अवसरमा जिल्ला अदालतको भवन चर्केको तथा कतिपय जिल्लाका भवनमा मुद्दा सुनुवाइ हुनसक्ने वा नसक्ने यकिन तथ्यांक नआएको प्रधानन्यायाधीशले बताएका थिए। क्षति नभएका जिल्लाका न्यायालय सुचारु रहेकाले बाँकी जिल्लामा पनि छिट्टै सञ्चालन गराउन लागिपरेको साहले मन्त्रीलाई जानकारी गराएका थिए।
सर्वोच्च अदालतलाई प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार पाँच जिल्लाका भवन काम नलाग्नेगरी चर्केका छन्। केही जिल्लाको भवन कामै नलाग्ने भएका छन् भने केहीमा मर्मतपछि काम चलाउन सकिने अवस्था रहेको दाहालले बताए। भक्तपुर, काभ्रेपलान्चोक, नुवाकोट, रसुवा, धादिङ, रामेछाप, भोजपुर, मकवानपुर र संखुवासभाको जिल्ला अदालत मर्मत नगरी सञ्चालन गर्न नसकिने देखिएको उनले बताए।
सर्वोच्च अदालतको मुख्य भवन तीन चिरा भएको छ भने पुनरावेदन अदालत ललितपुर मातहतको वाणिज्य इजलास सञ्चालन गर्न नसकिने अवस्थामा छ।
सर्वोच्च अदालतको भवन चर्किएपछि मुद्दा सुनुवाइको व्यवस्थापन गर्न आइतबारसम्मका लागि अदालत सेवाग्राहीका लागि नखुल्ने सूचना जारी गरेको थियो। फाँटहरुको व्यस्थापन र अस्थायी इजलास निर्माण गर्नुपर्ने भएकाले समयमा अदालत सञ्चालन गराउन नसकिएको दाहालले बताए। नागरिकन्युजमा समाचार छ ।