सिन्धुपाल्चोकमा, तस्बिर: REUTERS/Athit Perawongmetha !
ध्रुव लम्साल, अन्लाईनखबर
सिन्धुपाल्चोक । बैशाख १२ गतेको पहिलो भूकम्पले आफ्नो घर अलिअलि मात्रै चर्किँदा सिन्धुपाल्चोक इर्खुका हरिबहादुर श्रेष्ठलाई लागेको थियो, घर त चर्कियो धन्न ढलेन ।
भूकम्पपछि श्रेष्ठले आफ्ना छिमेकीलाई सघाएर केही दिन बिताए । त्यसपछि आएको सानातिना पराकम्पनले बेला बेलामा हल्लाए पनि उनको घर ढलेन ।
तर, हरिबहादुर त्यतिबेला अक्क न वक्क भए, जब वैशाख २९ गते मंगलबार आएको भूकम्पले आँखै अगाडिको उनको घर गल्र्याम गुर्लम ढल्यो र माटोमा मिल्यो ।
सिंगै गाउँ धुलोले कुहिरीमण्डल भएको हेरिरहेका हरिबहादुरले एकैछिनमा थाहा पाए, चौतारा बजारमा रहेको उनको अर्को घर पनि ढल्यो ।
अहिले इर्खुमा आफ्नै बारीको कुनामा टेन्ट बनाएर बस्ने उनी एक्ला होइनन् । सिन्धुपाल्चोक चौतारामा यस्ता धेरै ब्यक्ति भेटिए, जो करोडौं मूल्य पर्ने घर भग्नावशेष भएपछि सडकमा आउन बाध्य भए ।
चौतारा बजारमा रहेको ६ तल्ले घर भग्नावशेषमा परिणत भएपछि प्लाष्टिकका बास्केट निकाल्दै गरेका भेटिए बीरेन्द्र श्रेष्ठ ।
पिल्लर सिष्टममा बनाएको उनको ५ तल्लाको घर पनि अहिले माटोमै मिलेको छ । श्रीकृष्ण रत्न माध्यमिक विद्यालयका प्राधानाध्यापक ध्रुवलाल श्रेष्ठ । भग्न चौतारा बजार हेर्दै गरेका श्रेष्ठले भने हाम्रो देश अब एक पुस्ता पछाडि पर्यो ।
शव गन्हाउन थालिसक्यो
इर्खुबाट चारघण्टा उत्तर पश्चिममा पर्छ याङ्ला गाविसको हगाम गाउँ । जहाँ ११ गतेसम्म सेतै जस्ता टल्किएको गाउँ देखिन्थ्यो । तर, अहिले पहिरोको टाटो मात्रै देखिन्छ ।
इर्खुका हरिबहादुरले हगाम गाउँ देखाउँदै भने, त्यहाँ तीन सय बढी घर थिए, अहिलेसम्म उद्धार टोली पुगेको छैन, कति मरे, केही थाह छैन ।
हगाम गाउँमा कोही पनि जीवित नरहेको स्थानीयको भनाइ छ । श्रेष्ठ भन्दै थिए गाउँको वरपर पुग्नै हुन्न, लास गन्हाउन थालिसक्यो ।
हगामभन्दा पर पनि ठूलो बस्ती रहेका अरु तीनवटा गाउँ छन् गुम्बा, पाङताङ र गोल्चे । त्यहाँ कति भौतिक एवं मानवीय क्षति भयो, त्यसबारेमा राज्य लगभग बेखबर छ ।
सरकारले सिन्धुपाल्चोकमा तीन हजार बढीको मृत्यु भएको बताए पनि स्थानीयहरु आठ हजार बढीको ज्यान गएको बताउँछन् । सिन्धुपाल्चोकका विकट जिल्लाहरुमा कति क्षति भयो विवरणै आएको छैन ।
खानेपानीको हाहाकार
वैशाख १२ को भूकम्पपछि चौतारा बजारको धारामा पानी आएको छैन । विभिन्न सामाजिक संघसंस्थाले गच्छे अनुसार दाल, चामल, आलु बितरण गरे पनि खाने पानीका लागि नेपाली सेनाको ट्याङ्कर कुर्नुको विकल्प छैन ।
सेनाले ट्याङ्करबाट पानी त बाँडेको छ तर, अड्कलेर मात्रै र्पान्छ