मंगलबारको भूकम्पले तहसनहस पारेको दोलखामा मानवीय उद्धार सकियो, राहत वितरण सुरु

दोलखा  – मंगलबारको भूकम्पले तहसनहस पारेपछि मानवीय उद्धारमा जुटेको दोलखाको संयन्त्र फेरि राहत वितरणतर्फ फर्किएको छ ।
भूकम्पले प्रभावितहरुका लागि तत्काल उद्धारको व्यवस्थापन हुने लागेको बेला फेरि शक्तिशाली धक्काले जिल्लाको अधिकांश घर ध्वस्त पारेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार भूकम्पले ९५ प्रतिशत संरचना क्षति पुर्‍याएकोमा पछिल्लो धक्काले ९९ प्रतिशत भत्कायो । मंगलबारको भूकम्पले दोलखामा मात्र ७९ जनाको मृत्यु भएको पुष्टी भएको छ । करिब २ सय ५० जना घाइते भएकोमा अधिकाशंलाई राजधानी लगिएको छ ।
गम्भीर विपत्को भूमरीमा परेको दालखावासीका लागि मंगलबार मध्यान्ह फेरि अर्को विपद थपियो । त्यसपछि जारी राहत वितरण कार्यक्रम स्थगित गरी सिंगो शक्ति खोज तथा उद्धारमा लागेको थियो । शुक्रबारदेखि घाइते र विभिन्न ठाउँमा फसेकाहरुलाई उद्धार अन्तिम चरणमा पुगेकाले राहतवितरण सुरु गरिएको जानकारी दैविप्रकोप उद्धार समिति राहत व्यवस्थापन समिति संयोजक रेशमलाल कँडेलले बताए ।
भूकम्पछि जिल्लाको ४८ गाविस र जिरी नगरपालिकामा राहत वितरण गर्ने जिम्मा गैरसरकारी संस्थाले लिएको थियो । सबैले शुक्रबारदेखि राहत वितण प्रकृया थाल्ने योजना भए पनि कतिपय स्थानमा सडक अबरोध भएकाले समस्या परेको उनले बताए ।
सभासद्ले फिर्ता गरेको पाल दोलखामा
सभासद्हरुलाई वितरण गर्ने भनिएको पाल फिर्ता गरिएपछि त्यसलाई शुक्रबार दोलखामा ल्याइएको छ ।
संविधानसभा सदस्यहरु फिर्ता गरेको ४ सय २२ थानपाललाई उपसचिव सुरजकुमार दुराले हस्तन्तरण गरे । उनले दैवी प्रकोप उद्धार समितिका अध्यक्ष प्रेमलाल लामिछानेलाई हस्तान्तरण गर्दै बाँकी रहेको पाल फेरि ल्याउने जानकारी दिए ।
गैरसकारी संस्थाले जिम्मा लिन बाँकी भीमेश्वर नगरपालिका र अन्यत्र आबश्यक परेको स्थानमा दैविप्रकोपको भण्डारमा सुरक्षित राहत सामाग्री बाँड्ने योजना छ । ईकन्तिपुरमा समाचार छ ।