प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण शुक्रबारदेखि सेवानिवृत्त भएका छन्।
निर्वाचन आयोगमा शुक्रबार आयोजित समारोहमा आयुक्तत्रय दोलखबहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव र इला शर्मा तथा आयोगका कर्मचारीले उनलाई विदाई अभिवादन गरेका थिए।
मुलुकमा प्रजातन्त्रको पुनःस्थापनासँगै विसं २०४७ सालमा विशेषज्ञको रुपमा आयोगमा प्रवेश गरेका उप्रेतीले पछिल्लो समय प्रमुख निर्वाचन आयुक्तको रुपमा दुई वर्ष दुई महिना काम गर्ने अवसर प्राप्त गरेका थिए।
विसं २०४८ सालपछिका सम्पूर्ण निर्वाचनमा कुनै न कुनै रुपमा योगदान पुर्यायाएका उप्रेती २०६३ साल कात्तिकमा निर्वाचन आयुक्त, २०६६ साल जेठमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र २०६८ सालको चैतमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने मौका पाएका थिए।
उनले प्रजातन्त्रपछि छैठौं प्रमुख निर्वाचन आयुक्तको रुपमा काम गर्ने अवसर प्राप्त गरेका थिए। निर्वाचन आयोगमा प्रवेश गर्नुअघि उनले राष्ट्रिय कम्प्युटर केन्द्रको शाखा अधिकृत हुँदै निर्देशकको जिम्मेवारी सम्हालेका थिए।
विदाई समारोहपछि कुरा गर्दै उनले फोटोसहितको नामावली तयार गरी त्यसको आधारमा मतदाता परिचयपत्र वितरण गरेर संविधानसभाको पछिल्लो निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट सम्पन्न गर्न सकेकोमा त्यसलाई जीवनमा गरिएका सबैभन्दा महत्वपूर्ण काम मध्येमा आफूले सम्झने प्रतिक्रिया दिए।
मतदाता शिक्षाकालागि मतदाता शिक्षा तथा सूचना केन्द्र स्थापना, सञ्चालन र विस्तारलाई राम्रो उपलब्धिको रुपमा आफूले लिएको बताउँदै उनले त्यसले निर्वाचन आयोगलाई विश्वका केही उत्कृष्ट निर्वाचन व्यवस्थापन निकायका रुपमा स्थापना गराउन समेत सफल भएको जानकारी दिए।
निर्वाचन पछाडि सहमति गरेर यतिबेला संविधान बनाइसक्नुपर्ने हो, तर दलहरूले राष्ट्रको समुच्चरुपमा सहमति बनाएर संविधान जारी गर्ने प्रयास गरिरहेकाले यो संविधानसभाबाट देश र जनताले संविधान प्राप्त गर्नेमा आफू पूर्ण विश्वस्त छु- उनले भने।
उनी सेवानिवृत्त भएसँगै आयोगका वरिष्ठ आयुक्त दोलखबहादुर गुरुङले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको रुपमा जिम्मेवारी सम्हालेछन्। रासस