स्कुल १७ गतेबाट खुलेपनि विद्यार्थीलाई झोला नबोकाउने, गृहकार्य नदिने, पठनपाठन भने एक साता पछिबाट हुने, पहिलो साता परार्मश

जेठ दोस्रो साताबाट सन्चालन हुन लागेका विद्यालयहरुमा तत्काल किताबी पढाई र गृहकार्य भन्दा पनि विद्यार्थीको मनबाट भूकम्पको डर हटाउने खालका अस्थायी पाठ्यक्रम बनाउन थालिएको छ ।
विशेष गरी निजी विद्यालयहरुको संगठन प्याव्सन, एनप्याव्सन र कतिपय विद्यालय आफैंले पनि त्यस्ता पाठ्यक्रमहरु बनाएका छन् । सरकारी विद्यालयमा पनि तत्काल विद्यार्थीलाई घोकाउने भन्दा पनि उनीहरुलाई सामान्य अवस्थामा फर्काउने उपाय अबलम्बन गरिनेछ ।
कम्तिमा एक महिना किताब कापी बोकाइने छैन, गृहकार्य पनि दिइने छैन, हिसानका सचिव तथा जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले भने, विद्यार्थीलाई टेन्टमा राखेर सामान्य अवस्थामा फर्काइनेछ ।
तत्कालै ठूला भवनहरुमा विद्यार्थीलाई प्रवेश नगराउने नीति लिइएको प्याव्सनका बरिष्ठ उपाध्यक्ष लक्ष्यवहादुर केसीले बताए । कतिपय निजी विद्यालय पनि ध्वस्त भएका छन्, विद्यार्थी र अभिभावक त्रासमै भएकाले विद्यालय खोलेर पूर्ववत पढाइ गर्ने अवस्था छैन, उनले भने ।
महाभूकम्प र त्यसपछिका साना ठूला पराकम्पनका कारण विद्यार्थीको मनस्थिति पनि खल्बलिएको छ । यस्तो अवस्थामा उनीहरुलाई ठूला भवनहरुमा राखेर पढाइ शुरु गरिहाल्न मनोवैज्ञानिक रुपमा पनि ठीक नहुने अखिल क्रान्तिकारीका केन्दीय सचिवालय सदस्य दिपेश पुन बताउछन् ।
भूकम्प प्रभावित जिल्लाका धेरैजसो स्कूलहरु भत्किएका छन्, काठमाडौंमै निजी स्कूलहरु भत्किएका छन् पुनले भने, भत्किएका मन जोड्ने खालका कक्षा चलाएरमात्र भौतिक रुपमा भवन ठिक भएपछि नियमित पढाइ गर्नु राम्रो ।
विद्यालयहरुले आफ्ना शिक्षकलाई मनोसामाजिक परामर्श दिन थालेका छन् । कतिपयले आफ्नो चलिरहेको विद्यालय भवनको साटो खुला ठाउँमा टेण्ट हालेर कक्षा चलाउने प्रक्रिया थालिसकेका छन् ।
जेभियर इन्टरनेशनल स्कूलले कालोपुलको स्कूलको साटो बौद्धमा खुला चौरमा टेण्ट हालेर विद्यालय सन्चालन गर्न लागेको पि्रन्सिपल गोपाल भण्डारीले जानकारी दिए ।
त्यस्तै जेम्स, भिएस निकेतन लगायतका विद्यालयमा पनि तत्काल पढाई नहुने भएको छ ।