भूकम्पले तहस-नहस बनाएको दोलखाका ४५ हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सिफारिस

दोलखा  । भूकम्पले तहस-नहस बनाएको दोलखाको उत्तरी क्षेत्रमा अझैपनि उद्धारको काम हुन सकेको छैन ।
भूकम्पछि गएको पहिरो पन्छाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिए पनि उपकरणको अभावमा काम हुन नसकेको हो । गत वैशाख २९ गतेको ठूलो धक्कासँगै सिंगटी बजारमा गएको पहिरोमा मात्र उत्तरी गाउँबाट राहत लिन आएका धेरै जना पुरिएको आशंका गरिए पनि उद्धारको काम हुन सकेको छैन ।
दोलखा जिल्ला प्रहरी कार्यालयले भने हराइरहेकाहरु सूची तयार गर्न प्रभावित क्षेत्रमा टोली परिचालन गरेको छ ।
स्थानीय प्रशासनले उत्तरी क्षेत्रका १४ गाउँ विकास समितिका ९ हजार पाँच परिवारका झन्डै ४५ हजार सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न गृह मन्त्रालयसँग आग्रह गरेको छ ।
सडकमार्ग अबरुद्ध भएका क्षेत्रमा हेलिकप्टरबाट राहत लगी वितरण गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
सुरक्षाका कारण सदरमुकाम चरिकोटमा रहेका पर्यटकीय स्थलमासमेत आवतजावतमा स्थानीय प्रशासनले रोक लगाएको छ । इमेजखबरमा समाचार छ ।