गोरखा – गत वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि बारीको पाटोमा र खुला चौरमा जीवन बिताउन बाध्य उत्तरी गोरखाका बासिन्दा पहिरोका कारण पुन: बिचल्लीमा परेका छन्।
वर्षाले गर्दा त्रिपालको बाससमेत उनीहरूका लागि यतिबेला सकस हुन थालेको छ। भूकम्पले घरवारविहीन बनेपछि प्लास्टिक र त्रिपालको भरमा बसेका खोप्लाङ, थोप्राक, गाँखु, श्रीनाथकोट, जौबारी, मुच्चोक, सिम्जुङ, घ्याल्चोक, बारपाक, लाप्राक, गुम्दा, कासीगाउँ, केरौजा, लापु, उहियालगायतका गाविसका बासिन्दा पछिल्ला तीन दिनदेखि पर्न थालेको पानीले निम्त्याएको पहिरोका कारण बिचल्ली परेका हुन्।
पानी पर्न थालेपछि भूकम्पले चिराचिरा बनाएको पहाडबाट पहिरो झर्न थालेकाले ती गाविसलाई जोड्ने एकमात्र कच्चीसडक पटकपटक अवरुद्ध बन्न थालेको छ।
सडकमा ठूलाठूला ढुंगा खस्न र पहिरो जान थालेपछि उद्धार, राहत र पुन: निर्माणका लागि विभिन्न संघसंस्थाले दिएका सामग्री ढुवानीमा समस्या परेको छ। माथिबाट कतिखेर पहिरो खस्छ भन्ने डरका कारण स्थानीय बाटोमा हिँडडुल गर्नसमेत छाडेका छन्।
गोरखा नगरपालिकाबाट उत्तरतर्फको उक्त सडक २०६५ सालदेखि विस्तारित हुँदै गुम्दा गाविससम्म पुगेको छ। बारम्बार गइरहेको पराकम्पनले पहाडबाट ठूला ढुंगासमेत फुटेर खस्न थालेका छन्।
बिहीबार राहत बोकेर काठमाडौं, चितवनलगायतका स्थानबाट पुगेका विभिन्न संघसंस्थाका गाडी बाटोमै फसेपछि ट्याक्टर लगाएर उद्धार गरिएको थियो। पटकपटक पहिरो गएपछि हिलाम्ये बनेको सडकमा ट्याक्टर गुड्नसमेत कठिन छ।
पहिरोले पुरिएर आमाछोरीको मृत्यु भएकै चौरपानी गाविसमा पर्ने सडक खण्डमा स्थानीयले रिजर्भ गरेर ल्याएको जिपमा पहिरो खस्दा चालकको खुट्टा भाँच्चियो भने चारजना घाइते भए।
बारपाक-४ का जितबहादुर घलेले भूकम्पपछि पानी पर्दा गएको पहिरोले पीडितलाई झन् उठिबास बनाएको बताए। ‘भूकम्पले हामीलाई उजाडेको थियो। एउटा त्रिपालको भरमा बालबच्चासहित ११/१२ जना बस्न थालेका थियौं’, उनले भने, ‘पानीले हिलाम्य भएपछि त्यही बास पनि सकस भएको छ। बालबच्चा चिसोले कठ्यांग्रिएका छन्। अब यसरी कति दिन बाँचौंला र हामी?’
वर्षा हुँदा बल्लतल्ल निर्माण गर्न थालिएका कटेरासमेत अलपत्र परेका छन्। कतिपय नयाँ कटेरा पनि भत्केपछि स्थानीय चिन्तित छन्। अस्थायी रूपमा बनाउन लागिएका शौचालय, मर्मत गर्न थालिएका खानेपानीका मुहान पहिरोले गर्दा रोकिएका छन्।
‘यी काममात्र होइन, बाहिर पकाएर खानसमेत नहुने भएको छ’, सामाजिक परिचालक ओमबहादुर खलेले भने, ‘सबैका घरमा ग्यास छैन।दाउरामा पकाउन पानीले मिल्दैन। अब भोकै बस्नुपर्ने दिन आउला जस्तो छ।’
पहिरोले घोगा हाल्न ठिक्क परेका मकैबालीमा समेत क्षति पुगेको छ। यसबाट स्थानीय किसान अब के खाने भनेर चिन्तित छन्। पानीले गर्दा बारीमा फलेका आलुसमेत निकाल्न नपाउँदा कुहिन थालेका छन्। मुख्य खेती आलु कुहिन थालेपछि भोकमरीको समस्या आउने सक्ने लाप्राक गाविसका रामबहादुर गुरुङले बताए।
बारपाक गाविस सचिव तेजप्रसाद अम्गाईंका अनुसार बारपाकमा ७० जनाले ज्यान गुमाएका छन। तीमध्ये २९ बालबालिका छन्। एघार सय २८ घर धुरी रहेको बारपाकाको जनसंख्या साढे सात हजार छ। अन्नपूर्णपोष्टमा समाचार छ ।