भूकम्पका कारण पश्चिमाञ्चलका एक हजार ६ सय २० विद्यालयमा क्षति

भूकम्पका कारण पश्चिमाञ्चलका एक हजार ६ सय २० विद्यालयमा क्षति भएका छन्। ति विद्यालयका ४ हजार ४ सय ५१ कक्षा कोठा पूर्ण रुपमा क्षतिभएका छन् भने ५ हजार २८ कक्षा कोठामा आंशिक क्षति भएको क्षेत्रिय शिक्षा निर्देशक बैकुण्ठ अर्यालले जानकारी दिए।
क्षति भएका विद्यालयमा अस्थायी राहत कक्षा निमार्ण गरि कतिपय जिल्लामा पढाइ सन्चालन भएको उनले जानकारी दिए। पश्चिमाञ्चलका गोर्खा, लम्जुङ र तनहुँमा विद्यालय सञ्चालन हुन सकेका छैनन्। अन्य जिल्लामा भने पढाइ सञ्चालन भैसकेको अर्यालले बताए।
उनले गोर्खामा १७ गतेदेखि र लम्जुङ र तनहुँमा १० गतेदेखि विद्यालय सञ्चालन गर्ने तयारी भएको बताए। उनले तनहुँका सुगम ठाउँका विद्यालय सञ्चालन भए पनि विकट ठाउँका विद्यालयमा पढाइ सन्चालन हुन नसकेको बताए। पश्चिमाञ्चलामा सबै भन्दा बढी गोर्खामा ४ सय ४५ विद्यालयमा क्षति पुगेको छ। त्यसै गरि लम्जुङमा १ सय ९३, बाग्लुङमा १ सय ७४, तनहुँमा १ सय ७१, पाल्पामा १ सय ५८ विद्यालयमा क्षति पुगेको अर्यालले जानकारी दिए।
त्यसै गरि ५ सय ९५ विद्यालयका शौचालय, ४ सय ३ विद्यालयका कम्पाउण्डवाल र ४ सय ६३ विद्यालयको खानेपानीमा क्षति पुगेको उनले जानकारी दिए। गोर्खाका विद्यालयहरुमा अस्थायी राहत कक्षा बनाउन पनि कठिनाई भएको बताउँदै उनले आर्थिक र भौतिक दुबै खाँचो रहेको बताए।
विद्यार्थीको पढाइलाई टेवा पुर्‍याउन क्षेत्रिय शिक्षा निर्देशनालय पोखराका उपनिर्देशक ईश्वरीप्रसाद पोखरेलले बालबालिका शिक्षा तथा स्वाथ्य परामर्श कोषको स्थापना गरेका छन्। उनले एक महिनाको तलब २२ हजार १ सय १२ रूपैया राखेर कोषको स्थापना गरेका हुन्।
उनले पश्चिमाञ्चल क्षेत्रिय प्रशासक दिनेश कुमार थपलीयालाई उक्त रकम प्रदान गरे। उनले एकले थुकी सुकी सयले थुकी नदी को उखानलाई व्यावहारिक रुपमा चरितार्थ गर्न सहयोग गरेको बताए। सेतोपाटीमा समाचार छ ।