काठमाडौं- आम विनाशकारी भूकम्म गएको मंगलबार एक महिना पूरा भएको छ। भूकम्पमा आठ हजार ६ सय ५९ जनाको ज्यान लियो भने २१ हजार ९ सय ५२ जनालाई घाइते बनायो।
वैशाख १२ देखि जेठ १२ सम्मको अवधिमा ३० हजारभन्दा धेरै परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। चार रेक्टरस्कलेभन्दा तलका ३० हजारभन्दा बढी परकम्पन गएको केन्द्रका महानिर्देशक सर्वजीतप्रसाद महतोले जानकारी दिए। गृहमन्त्रालयले चार रेक्टरस्केलभन्दा साना भूकम्पले खासै क्षति नपुर्याउने भन्दै साना भूकम्पको रेकर्ड सार्वजनिक नगर्न भनेको थियो। केन्द्रमा २ रेक्टरस्केलदेखिका भूकम्पको कम्पन रेकर्ड हुनेगर्छ।
‘अहिलेसम्म चार रेक्टरस्कलेभन्दा साना ३० हजार भन्दा बढी परकम्पन रेकर्ड भएको छ,’ महतोले भने, ‘अहिले विहान १० बजेर ८ मिनेटमा पनि चार रेक्टरस्कलेभन्दा सानो परकम्पन गएको छ ।’ केन्द्रका अनुसार चार रेक्टरस्केलभन्दा माथिका २ सय ५६ वटा पराकम्पन गएका छन भने ५ रेक्टरस्कलेमाथिका २५ वटा परकम्पन गएको छ । यसैगरी ६ रेक्टरस्केलमाथिको ४ वटा परकम्पन गएका छन भने ७ रेक्टरस्कलेमाथिको एउटा भूकम्प गएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार सोमबार म्याग्दीमा चार रेक्टरस्केलमूनिका चारवटा पराकम्पन गएका छन्। केन्द्रका महानिर्देशक महतोका अनुसार अधिकांश भूकम्पका परकम्पन गोरखादेखि दोलखाकोबीचमा केन्द्रविन्दु बनाएर गएका छन् ।भूकम्पको एक महिना पूरा हुँदा तुलनात्मक रुपमा परकम्पनहरु कम हुँदै गएका छन्। भूकम्पको विषयका कसैले पूर्वानूमान गर्न नसक्ने भन्दै केन्द्रले हल्लाको पछि नलाग्न आग्रह गरेको छ। नागरिकन्युजमा समाचार छ ।