केही दिनदेखि बढेको गर्मीले तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै

काठमाडौं  । केही दिनदेखि बढेको गर्मीले तराई क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ ।
गर्मीले पश्चिम तराईका चितवन, रुपन्देही, नवलपरासी, बाँके, बर्दियाका साथै पूर्वी तराईका धनुषा, महोत्तरी, सिरहा, सर्लाही, मोरङलगायतका जिल्लाहरु प्रभावित बनेका छन् ।
गर्मीको प्रभाव सबैभन्दा बढी रुपन्देही, बाँके, कैलाली र पूर्वको मोरङमा देखिएको छ । यी जिल्लामा तापक्रम ४० डिग्री नाघेको छ । गर्मीका कारण जिल्लाका स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको छ । चर्को गर्मीले दिउँसो बजार क्षेत्रमा चहलपहल घटेको छ ।
सर्वसाधारणमा रिंगटा लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । गर्मी मौसममा मानिसको शरीरमा रहेको पानीको मात्रा पसिनाका रुपमा बाहिर निस्किने भएकाले बढी झोलयुक्त खानेकुरा खान र स्वच्छ पानी पिउन सल्लाह दिइएको छ ।
गर्मी बढेसँगै तराईका जिल्लाहरुमा चिसो पेय पदार्थको व्यापार भने फस्टाएको छ । इमेजखबरमा समाचार छ ।