मोरङ – केही दिनयता मोरङलगायत पूर्वका जिल्लामा तापक्रम बढेसँगै जनजीवन प्रभावित भएको छ। बजार क्षेत्रमा सर्वसाधारणको उपस्थिति पनि पातलिएको छ।
पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालय धरानका मौसम विज्ञान सहायक सुदर्शन हुमागाईंका अनुसार तराईका जिल्लामा मात्र नभई पहाडी जिल्लामा समेत गर्मी बढ्न थालेको छ। आइतबार पूर्वमा यसपटकको सबैभन्दा बढी गर्मी धरानमा मापन गरिएको छ। हुमागाईंका अनुसार आइतबार दिउँसो धरानको तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो। धरानमा अप्रिल १६ का दिन यस वर्षको सबभन्दा बढी ३६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको थियो। पूर्वको मुख्य सहर विराटनगरमा आइतबार दिउँसो ३१ दशमलव ६ डिग्री तापक्रम मापन गरिएको हुमागाईंले जनाए।
विराटनगरमा पनि अप्रिल १६ कै दिन यस वर्षको सबभन्दा बढी गर्मी मापन गरिएको थियो। उक्त दिन विराटनगरको तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो। पहाडी जिल्ला धनकुटा र ताप्लेजुङमा पनि गर्मी बढेको छ। आइतबार धनकुटाको तापक्रम २८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ। त्यहाँ ७ मेका दिन ३० दशमलव ६ डिग्री तापक्रम मापन गरिएको थियो।
यस्तै ताप्लेजुङमा आइतबार २५ दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। सप्तरी, सिरहा र उदयपुरलगायतका जिल्लामा पनि पछिल्लो केही दिनयता गर्मी बढेको छ। गर्मी अत्यधिक बढेपछि मजदुरहरू मर्कामा परेका छन् भने रिक्सा चलाएर दैनिक जीवनयापन गर्नेलाई पनि समस्या भएको छ। गर्मीका बेला यात्रु नपाउने समस्या एकातिर छ भने यात्रु पाए पनि गन्तव्यसम्म पुर्याउँदा असिनपसिन हुने गरेको विराटनगरका रिक्साचालक देवीलाल ऋषिदेवले बताए। कान्तिपुर दैनिकमा समाचार छ ।
गर्मी बढेसँगै विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा बिरामीको चाप पनि बढ्दै गएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार केही दिनयता भाइरल ज्वरोका बिरामीको चाप बढेको छ। यस्तै छालासम्बन्धी समस्या लिएर अस्पताल आउने पनि बढेको डा. पोखरेलले जानकारी दिए। वैशाखको अनुपातमा जेठको सुरुदेखि हालसम्म ३० प्रतिशत बढी बिरामी उपचारका लागि अञ्चल अस्पताल आएको उनले बताए।
अञ्चल अस्पतालमा मात्र होइन, मोरङका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि केही दिनयता बिरामीको चाप बढेको छ।