गत वैशाख १२ र २९ गते गएको भूकम्पले पर्यटन क्षेत्रमा करिव ४४ अर्बको क्षति

काठमाडौ  – गत वैशाख १२ र २९ गते गएको भूकम्पले पर्यटन क्षेत्रमा करिव ४३ अर्ब ९९ करोड ५ लाख ९ सय ९६ रुपैयाँ क्षति पुगेको छ ।
संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार होटल,  होमस्टे, ट्रेकिङ एजेन्सी,  टुर अपरेटर,  गुम्बा/मन्दिर/मस्जिद,  पदमार्गको नोक्सानी,  पर्वतारोहण क्षेत्र र पुरातात्विक क्षेत्रमा करिब ४४ अर्ब रुपैयाँ बराबरको क्षति भएको हो ।
मन्त्रालयले व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा प्रस्तुत गरेको तथ्याङ्क अनुसार रसुवामा मात्रै ३ सय ६७ वटा होटलमा क्षति पुगेको छ भने काठमाडौंको ३ सय होटलमा क्षति पुगेको छ ।
भूकम्प प्रभावित १० जिल्लामा सबैभन्दा कम होटल क्षति हुनेमा काभ्रे र ललितपुर छन् । तथ्याङ्क अनुसार यी दुबै जिल्लामा ५०/५० वटा होटलमा क्षति पुगेको छ ।
कुल १ हजार ५ सय ५९ वटा होटलमा क्षति पुगेको तथ्यांकमा उल्लेख छ । जसबाट १६ करोड २९ लाख ४५ हजार २ सय ५० रुपैयाँ बराबरको क्षति पुगेको छ ।
यसैगरी मन्त्रालयले ३ सय ४४ वटा होमस्टेमा क्षति पुगेर १ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति हुन पुगेको जनाएको छ ।
टुर अपरेटरलाई भूकम्पपछिको एक महिनामा करिव १ करोड ९८ लाख ९७ हजार २ सय ९८ रुपैयाँ बराबरको व्यापारिक नोक्सान भएको छ । ट्रेकिङ एजेन्सीलाई मेदेखि सेप्टेम्बर महिनासम्ममा ३ करोड ५१ लाख २ हजार ४ सय ४८ रुपैयाँ बराबरको क्षति पुगेको जाइएको छ ।
मन्त्रालयले १५ सय गुम्बा/मन्दिर/मस्जिदमा क्षति पुगेको तथ्यांकमा उल्लेख छ । जसले १२ करोड रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । यसैगरी १ सय ५५ किलोमटर पदमार्गमा पूर्ण क्षति भएको छ भने २ सय ४२ कलोमिटर पदमार्गमा आंशिक क्षति हुन पुगेको छ ।
पर्वतारोहणमा करिव १ करोड बराबरको क्षति भएको छ भने ७ सय ३३ वटा पुरातात्विक संरचनामा क्षति हुँदा करिव ७ करोड ५ लाख रुपैयाँ बराबरको नोक्सान भएको मन्त्रालयको अनुमान छ । ईकन्तिपुरमा समाचार छ ।