काठमाडौं – देशभरिका पुनरावेदन अदालतका २६ जना अतिरिक्त न्यायाधीशहरुको कार्यकाल ६ महिना थप भएको छ। मंगलबारको न्यायपरिषद बैठकले उनीहरुको म्याद थप गर्ने निर्णय गरेको हो। उनीहरुको पदावधि आज मंगलबार सकिँदै थियो।
प्रधानमन्त्रीको सिफारिसमा नयाँ सदस्यको नियुक्ति भएकाले मंगलबार बसेको परिषद बैठकले म्याद थप गरेको हो। मंगलबार म्याद थपिएका न्यायाधीशहरुले आगामी मंसिर २६ सम्म काम गर्नेछन्।
न्यायाधीशमा आफूनिकट व्यक्तिहरू हुनुपर्ने परिषद पदाधिकारीको अडानका कारण नियुक्ति प्रक्रिया अवरुद्ध हुँदै आएको छ।
मंगलबार म्याद थप भएका पुनरावेदन न्यायाधीशहरुमा अग्नि थपलिया, ऋषिराम दवाडी, केदार पौडेल, ईश्वरीप्रसाद घिमिरे, नित्यानन्द पाण्डे, राजेश्वर तिवारी, दिनेशप्रसाद यादव, कृष्णलाल भट्टराई, नरबहादुर शाही, शान्तिसिंह थापा, नारायणप्रसाद साह, जगन्नाथ महतो, तेजबहादुर राई, यमुना भट्टराई, नन्दलाल थारु, मनोजकुमार शर्मा, सरिता शर्मा, निलम पौडेल र अनिता मानन्धर जोशी लगायत छन्।
तत्कालीन समयमा बारबाट १८ तथा कानुन क्षेत्र, सरकारी वकिल र जिल्ला न्यायाधीशबाट ९ गरी २७ जना नियुक्त भएका थिए। नागरिकन्युजमा समाचार छ ।