मनसुन एक साता ढिला सुरु हुने

काठमाडौ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले मनसुन एक साता ढिला सुरु हुने बताएको छ । सरदर १० जुन (आज बुधवार) देखि मनसुन सुरु हुने भए पनि एक साता धकेलिएको विभागका महानिर्देशक डा.ऋषिराम शर्माले बताए । अहिलेको लक्षण हेर्दा कम्तीमा पनि एक साता पछि मात्रै मनसुन सुरु हुने देखिन्छ, डा.शर्माले भने ।
महाशाखाका अनुसार भारतको केरलामा पनि मनसुन पाँच दिन ढिला सुरु भएको छ । मनसुन पछि धकेलिएकाले मध्य र पश्चिम क्षेत्रमा अझै केहि दिन गर्मी हुने मौसमविद्को अनुमान छ । केही दिनदेखि मध्य र सूदूरपश्चिमका विभिन्न स्थानमा तापक्रम ४४ डिग्रिसम्म रेकर्ड भएको छ । काठमाडौंमै पनि ३५ डिग्रि रेकर्ड भएको छ ।
अहिले मध्यपूर्वी अरब सागरमा एउटा न्युन चापीय प्रणाली विकास भएको र त्यो अझ शक्तिशाली भई उत्तर पश्चिमतिर जाने अनुमान गरिएकाले नेपालमा मनसुन पछि धकेलिएको हो ।