भुकम्पका पराकम्पनहरु घटेसँगै काठमाडौं उपत्यकामा चहलपहल

काठमाडौं ।  भुकम्पका पराकम्पनहरु घटेसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ ।
पछिल्लो एक हप्तादेखि काठमाडौं उपत्यकाबाट बाहिरिनेभन्दा उपत्यकामा भित्रिनेहरुको संख्या क्रमिकरुपले बढ्दो छ ।
मंगलबार बिहान ६ बजे देखी आज बिहान ६ बजेसम्म काठमाडौ उपत्यकाबाट बाहिरिनेभन्दा भित्रिने यात्रुको संख्या ६ हजारले बढी छ ।
काठमाडौ उपत्यकामा आज सडक र सवारी सञ्चालनको अवस्था सामान्य छ भने सवारी आवागनमलाई प्रभावित पार्ने कुनै कार्यक्रम नरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
हवाई यातायात तर्फ पनि त्रिभुवन बिमानस्थलबाट आज सबै आन्तरीक तथा बाह्य उडानहरु नियमित रुपमा सञ्चालन भइरहेको छ ।
काठमाडौं उपत्यकाको मौसम दिउँसो सफा रहने भएपनि बेलुकी बदली हुन सक्ने मौसम बिज्ञान बिभागले जनाएको छ ।
मध्य तथा पुर्वी भेगमा पनि बेलुकी पख मेघ गर्जन सहित पानी पर्ने महाशाखाको प्रक्षेपण छ ।
आज उपत्यकाको अधिकतम तापक्रम ३१ देखी ३३ डिग्री सेल्सीएसको बिच रहने छ भने पश्चिम नेपालको तराई क्षेत्रमा ४० देखी ४२ डिग्री र पुर्वी नेपालका बिराटनगर लगायतका क्षेत्रमा ३१ देखी ३३ डिग्री बिचमै तापक्रम रहने छ ।
सामान्यतया नेपालमा आजबाट मनसुन सुरु हुने भनिएपनि यो वर्ष मनसुन भित्रिन अझै केही दिन लाग्नेछ ।

अबको एक हप्ताभित्र देशका सबै क्षेत्रमा नियमित मनसुन प्रवेश भइसक्ने मौसमबिद समिर कार्कीले जानकारी दिए ।इमेजखबरमा समाचार छ ।