लिवाङको ल्यामल्याममा फसेका १४ जनालाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले मिलेर उद्धार गरे

ताप्लेजुङ- लिवाङ गाविसको ल्यामल्याममा फसेका १४ जनालाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले मिलेर उद्धार गरेका छन्। उनीहरुलाई खोक्लिङ र लिवाङको सुरक्षित स्थानमा पठाइएको छ। उद्धारमा आएको हेलकोप्टर भने मौसम खराबीले अझै उड्न सकेको छैन। हेलिकोप्टर सशस्त्र प्रहरी बलको कञ्चनजंगा गुल्ममा रोकिएको छ।
आपतकाली राहतका लागि रेडक्रस र उद्योग वाणिज्य संघ ताप्लेजुङले समन्वय गरिरहेको छ। शुक्रबारै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जोखिममा परेको बस्ती तत्काल सार्ने निर्णय गरेको छ। सबैभन्दा असुरक्षति दोभान बजारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ।
त्यस्तै जिल्ला अस्पतालमा उपचाररत तीन जनालाई थप उपचारका लागि धरानस्थित बिपी मेमोरियल अस्पतालमा पठाइएको छ। बाँकी ५ जनाको उपचार भने जिल्ला अस्पतालमै भइरहेको छ।
त्यस्तै लिङ्कतेप र लिवाङ गाविसको बीचमा पर्ने ओडारमा चार जना उद्धारको पर्खाइमा छन्। घर नै जोखिममा परेपछि ओडारस्थित झोलुङ्गे पुल नजिकै उनीहरु अलपत्र परेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक डमरु प्रसाद निरौलाले जानकारी दिएका छन्। ल्यामल्याममा उद्धारका लागि गएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसतर्फ पठाइएको निरौलाले बताए। त्यहाँदेखि ओडार पुग्न साढे तीन घन्टा पैदल हिँड्नुपर्ने हुन्छ।
निरौलाले मौसम खुल्नेबितिकै हेलिकिटर उडाउने बताए। उनका अनुससार हालसम्म २६ जनाको शव प्राप्त भएको छ। जसमा ११ जना महिला, ९ जना पुरुष र ७ जना बालबालिका छन्। २९ जना अझै बेपत्ता छन्। नागरिकन्युजमा समाचार छ ।