काठमाडौं काकाकुल बन्दै, मागभन्दा ४ गुना कम आपूर्ति

काठमाडौं, जेष्ठ ३० । इमेजखबरमा प्रकासित समाचार अनुसार काठमाडौंको ढल्कुमा बस्ने नासीर खानले दैनिक डेढ किलोमिटर पर गएर पानी ल्याउँछन् । घरमा धारा छ, तर १५, २० दिनमा मात्रै पानी आउँछ । एउटै घरमा ४ परिवार बसेका छन्, त्यसैले १५ दिनमा आएको पानी एउटा परिवारको भागमा १५, २० लिटर मात्रै पर्छ ।
बागबजारकी सरस्वती पन्तको समस्या पनि उस्तै छ । हप्ता १५ दिनमा डेलिगेसन जानुपर्छ, तर पानीको समस्या जस्ताको तस्तै छ । घर माथिकाले ठूलो मोटर जोड्दा पानी आएको बेलामा पनि उनको धारोमा भने राम्रोसंँग पानी आउँदैन ।
नासीर र सरस्वती त एउटा प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौंमा यस्ता थुप्रै भुक्तभोगी छन्, जसले पानीका लागी दिनहुँ संघर्ष गरिरहेका छन् । काठमार्डौबासीले गर्नुपर्ने धेरै संघर्षमध्ये पानीको व्यवस्था गर्नु पनि एउटा ठूलो संघर्ष हो । यो पानीको अभाव हुने समय । यो बेलामा त झनै पानीको ठूलो अभाव हुने गरेको छ । धारोमा पानी आउनु भनेको ठूलो युद्ध जितेको जस्तै हुन्छ राजधानीबासीका लागि । पानी आउँदा पनि कुनबेला आउँछ, कहिले आउँछ, कुनै टुंगो हुँदैन ।
काठमाडौंकै सानो भर्‍याङका अर्जुनप्रसाद शर्माले धारोमा पानी नआएपछि ट्यांकरको पानी किन्न थालेको धेरै भइसक्यो । त्यही किनेको पानीमा पनि कुनैबेला ढलको फोहर मिसिएको उनको गुनासो छ ।