ताप्लेजुङको पश्चिमका बिभिन्न गाविसमा गएको पहिरोमा परी अझै २३ बेपत्ता, करिब ६ सय विस्तापित

ताप्लेजुङ, जेष्ठ ३१ । ताप्लेजुङको पश्चिमका बिभिन्न गाउँ विकास समितिमा बुधबार राती गएको पहिरोमा वेपत्ता भएका २३ जनाको अझै कुनै पत्तो पाउन सकिएको छैन ।
मृत्यु भएका मध्ये हालसम्म ३८ जनाको शव भेटिएको प्रहरी नायव उपरीक्षक शान्तिराज कोईरालाले जानकारी दिए ।
मृत्यु हुनेमा थिङलापुमा १५, लिवाङमा १२, लिङतेपमा ५, खोक्लिङमा ३, सान्थाक्रामा २ र थुकिमा १ जना छन् ।
यस्तै, लिवाङमा १५, खोक्लिङमा ७ र थुकिमा १ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै बालबालिका छन् ।
शव फेला परेकोमा १५ जना बालबालिका, १३ महिला र १० जना पुरुष छन् ।
कम मात्र खाद्यान्न उत्पादन हुने खोक्लिङ, लिवाङ, सान्थाक्रा, लिङतेप, थिङलाबु र खाम्लुङमा पहिरोले अहिलेसम्म करिव ६ सय जना पूर्ण रुपमा बिस्थापित भएका छन् ।
पहिरो पीडित परिवारलाई तीन दिनपछि शनिबारबाट राहत बाँडिएको छ । मौसम खराब हुँदा राहत पठाउन सकिएको थिएन ।
प्रभावित सबै गाविसमा पहिलो चरणमा औषधी सहितका करिव एक हजार पाँचसय किलोग्राम सामग्री पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी डम्बरु प्रसाद निरौलाले जानकारी दिए ।
अरु राहत हान्द्रुङ बजारबाट उपलब्ध गराइने निरौलाले जानकारी दिए ।
पहिरोले लिवाङ, लिङ्तेप, खोक्लिङ, थिङ्लाबु र सान्थाक्रा गाविसमा खानेपानीको मुहान, कुलो, धारा र पाईप बगाएकाले खानेपानीको समस्या भएको छ ।
उता, पश्चिमी ताप्लेजुङको पहिरोमा परेकाको उद्धार गर्न नभ्याउँदै जिल्लाको पूर्वी क्षेत्रका खेवाङ, सुरुमखिम र पेदाङ गाविसमा पहिरो जाँदा दुई दर्जन बढी घर परिवार विस्थापित भएका छन् ।
खेवाङको १ र २ नम्बर वडामा जमिन चिरिएर झर्न थालेपछि प्रभावितलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले स्थानीयको दुई सय मनभन्दा बढी फल्ने अलैची बगान र केही चौपाय पनि बगाएको छ । 
सिवा खोला लघु जलविद्युत आयोजनाको २० मिटर कुलो पनि बगाउँदा विद्युत आपूर्ति बन्द भएको छ । पहिरोले पेदाङ ६ का सात घर परिवार विस्थापित भएका छन् । इमेजखबरमा समाचार छ ।