काठमाडौ, जेष्ठ ३२ – औसतभन्दा तीन दिन ढिला गरी शनिबार राति पूर्वबाट मनसुन नेपाल प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले त्यसलाई कमजोर मनसुन भनेको छ ।
गत वर्ष पनि झन्डै १० दिन ढिलो गरी २० जुनदेखि मनसुन सुरु भएको थियो । महाशाखाले मनसुन केही दिनमै देशभरि फैलिने अनुमान गरेको छ । मनसुन प्रवेशसँगै बितेको २४ घण्टामा पूर्वी भागमा निकै वर्षा भएको छ । ताप्लेजुङ, धनकुटा, ओखलढुंगा, धरान, विराटनगर, जनकपुर, सिमरा, काठमाडौं, भैरहवा, लुम्लेमा उल्लेख्य वर्षा भएको छ ।
नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरको समयलाई सरदर मनसुनी अवधि भनिन्छ । उक्त समयमा वार्षिक वर्षाको ८ सय ५ मिलिमिटर वर्षा हुन्छ । हरेक वर्ष मनसुन सुरु हुनअगावै विश्व मौसम संगठनको अगुवाइमा दक्षिण एसिया क्षेत्रका मौसमविद्हरूको साझा मञ्चले मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्ने गरेको छ ।
गत अप्रिलमा ढाकामा सम्पन्न छैटौं दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले नेपालमा मनसुन अवधिमा सरदरभन्दा कम वर्षा हुने अनुमान गरेको छ ।